काठमाडौं- एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन पछि आज पहिलो पटक सार्वजनिक कार्यक्रमलाई सम्बोधन गरेका छन्। आइतबार मीना श्रेष्ठको कविता संग्रह ‘फर्गेट स्टर्डे’ सार्वजनिक कार्यक्रममा ओलीले ४० मिनेट लामो सम्बोधन गरे तर चुनावबारे कुनै टिप्पणी गरेनन्।
४० मिनेट भाषण गरेका ओलीले कविता र कविबारेको चर्चाबाट मन्तव्य सुरू गरेका थिए। उनले नेपालीहरू जातैले कवि भएको बताए। ओलीले भने, ‘हरेक नेपालीको नामको अन्त्यमा कवि लेखिदिए पनि हुन्छ।’लिपि पैदा हुनुभन्दा अगाडि पनि नेपालीहरूले गीत गाउँथे र काव्य रचना गर्ने गरेको ओलीले बताए।
‘काव्य, छन्दको रचना, तालको आविष्कार यस भूमिमा भएको थियो भन्न पाउँदा खुशी लाग्छ,’ ओलीले भने, ‘विश्वका कुनै कविले आफू ‘आँशु कवि’ भएकोमा घमण्ड गर्छ भने उसलाई नेपाली आँशु कविले १० मिनेट घाँस काट्दाकाट्दै हराइ दिन्छ।’ नेपालीले जस्तो गीतमा दोहोरी खेल्न संसारमा कसैले नसक्ने उनले बताए।
‘गीतमा पनि यस्तरी भन्छ, खुत्रुक्कै हुनेगरी भन्छ। त्यो काव्यात्मकता, लयात्मकता कसरी आउँछ ? कहिलेकहीँ के भनेको नै नबुझेर एकछिनपछि हाँस उठ्छ। गाउँदै जाँदा कति मर्मको कुरा फुत्त निकालेको हुन्छ। कति महान कवित्व ? विम्बको अलंकारको कति राम्रो संयोजन?’ हातहतियारको सृष्टि नेपालमै भएको ओलीले दाबी गरे। ढुंगे युगबाट धातु युगमा प्रवेश गर्दा शिवले त्रिशूल लिएको भन्दै यही नै पहिलो हतियार भएको उनको भनाइ थियो। यस्तै, शिवले बजाएको डमरु नै पहिलो वाध्यवाधन भएको ओलीको भनाइ थियो। ‘नृत्य यहीँ सुरू भयो। कला यहीँ सुरू भयो। नाट्यविधा यहीँ पैदा भयो। लय, छन्द, ताल यहीँ सुरू भयो। कवित्व भन्ने भाव यस धर्तिमा हजारौं वर्षअघि छ,’ उनले भने।
यस्तै ओलीले हिजोआज सहरका मान्छेहरुले बच्चा जन्मनुअघि नै जुत्ता किनेर ल्याउने गरेको टिप्पणी गरे। ‘सहरका मान्छेलाई काँडा बिझेको छ कि छैन म भन्न सक्दिनँ। गाउँका मान्छेका हरेकका पैतालामा काँडा बिझेका हुन्छन्,’ उनले भने, ‘सहरमा हिजोआज नानी जन्मनुभन्दा पहिलै जुत्ता किनेर ल्याएको हुन्छ। पैताला नघोचेको हुनसक्छ।’ ओलीले आफूहरु विद्यालय पढ्ने बेलामा खाली खुट्टा पैदल हिँड्नुपर्ने सुनाए। ‘हाम्रो समय अलि फरक थियो। हामीले एसएलसी पास गर्ने बेलासम्म पनि खाली खुट्टा पैदल नै हिँड्नुपर्थ्यो’ उनले भने।