काठमाडौं-२८ मंसिर २०७६ देखि ८ पुससम्म चितवनका कुखुरा र चल्ला उत्पादकले एक्कासी ‘चिक्स होलिडे’ घोषणा गरे । नेपाल ह्याचरी उद्योग संघको आह्वानमा ब्रोइलर र कोइलर जातको कुखुराको ६० लाख जिउँदा चल्ला नष्ट गर्ने १० दिने अभियान देशभर चल्यो ।
चल्लाको उच्च उत्पादनका कारण बजार मूल्य नपाएको भन्दै ह्याचरी उत्पादक संघले गरेको अभियान उनीहरूकै भाषामा सफल भयो । संघले यो घटनामा कुल क्षति कति भयो भनेर त खुलाएन । तर उनीहरूको एउटै दाबी थियो, ‘बजार नभएका कारण उत्पादित अण्डा र चल्ला नष्ट गर्न बाध्य भइयो ।’
२०७७ जेठमा काभ्रे पाँचखालका किसानले आफूले फलाएको तरकारीले बजार नपाएको भनेर खेतमा तरकारीमाथि ट्रयाक्टर चलाए । कृषक गोविन्द रम्तेलका अनुसार त्यस वर्ष उनले खेतमा लगाएको गोलभेंडा, भिन्डी, खुर्सानी, लाम्चो खुर्सानी तथा फर्सी नबिकेपछि बारीमै मलको रूपमा फाल्नुको विकल्प नै भएन । त्यसको अघिल्लो वर्ष प्रतिकिलो ७२ रुपैयाँमा बिक्री गरेको गोलभेंडा १२ रुपैयाँमा पनि बिक्री हुन नसकेपछि फाल्नु परेको उनको भनाइ थियो ।
२०७६ चैतमा धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ विशालटारका किसान राजकुमार विसुरालले खेतको मुला ट्रयाक्टर लगाएर जोते । दुई महिनाअघि लगाएको मुुला बिक्न नसकेपछि उनले ६ रोपनी जग्गाको मुला खेती अर्को बाली लगाउन भन्दै जोतिदिए । किसानले आफ्नो उत्पादनले बजार नपाएको भन्दै आफैं उत्पादन नष्ट गरेको घटना नेपालका लागि अब नयाँ रहेन ।