काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधानको मर्म र भावनाअनुरुप नै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विश्वासको मत लिने आफ्नो प्रस्तावमाथि दलहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले सत्ता गठबन्धनका दलहरु न्यूनमत साझा कार्यक्रमअनुसार एक ठाउँमा आएको बताए ।
प्रतिनिधिसभा विघटन ठिक कि बेठिक भन्ने बहसतर्फ जान नचाहेको भन्दै प्रधानमन्त्री प्रचण्डले संविधानको कार्यान्वयन गर्न आफूहरुको प्रतिबद्धता भएको बताए । संविधान बनाउने क्रममा नै सदनलाई सर्वोपरी बनाउन सहमति भएको भन्दै उनले संविधान संशोधन नहुँदासम्म त्यसको मर्म र भावनाअनुसार अघि बढ्न प्रतिबद्ध रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले संविधानको मर्म र भावनाभन्दा दायाँबायाँ गर्ने छुट आफूलाई नभएको बताए । यसअघि आजको बैठकमा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको विषयलाई लिएर शीर्ष नेताहरुबीच जुहारिनै चलेको थियो ।