काठमाडौँ- सत्तारूढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धनले बनाएको राजनीतिक समन्वय समिति आवश्यक नभएको बताएका छन्। सरकारलाई नियन्त्रण गर्ने खालका संयन्त्र बनाउन जरुरी नै नरहेको नेता सिंह बताएका हुन्। गणेशमान सिंहको १०७औं जन्म जयन्तीका अवसरमा आज बिहान काठमाडौँमा आयोजित कार्यक्रममा नेता सिंहले संविधानअनुसार पनि यस्तो संयन्त्र औचित्य नरहेको बताए।
‘सरकारभन्दा माथि जस्तो संयन्त्र बनेको छ। यो संविधान र प्रजातान्त्रिक विधि विपरीत पनि हुन्छ,’ सिंहले भने। गठबन्धनको सरकार भए पनि राज्यसत्ता सरकारले चलाउने उनले बताए। ‘काम त सरकारले गर्नुपर्ने हो। तर समन्वय समिति बनाइएको छ। अहिलेको अवस्थामा यो आवश्यक छ जस्तो मलाई लागेको छैन,’ उनले भने।
उच्चस्तरीय राजनीतिक समिति वा समन्वय समिति जे नाम दिए पनि सरकारलाई नियन्त्रणमा राख्न खोज्ने नियत रहेको उनको भनाइ थियो।‘नाम जे दिए पनि सरकारलाई कन्ट्रोल गर्ने मेकानिजमबाट यो बनेको छ। प्रजातान्त्रिक प्रणालीमा यो आवश्यक छैन,’ उनले भने। उनले सर्वोच्च अदालतमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल गर्नुपर्ने बताए। ‘न्यायालयमा देखिएका समस्या त्यहीँ भित्रबाट समाधान होस् भनेर मात्र हुँदैन। सरकार यस विषयमा मूकदर्शक भएर बस्न मिल्दैन,’ उनले भने, ‘गठबन्धन अनिर्णयको बन्दी हुनु हुन्न।’
न्यायालयमा देखिएका समस्याको कारण जनतालाई असुविधा भएको उनको भनाइ छ। कुनै व्यक्तिको स्वार्थका लागि जनताले दुःख पाइरहेको सिंहको टिप्पणी छ। उनले भने, ‘संविधानको भावना र मर्म अनुसार विधिसम्मत तरिकाले यो समस्या समाधान गर्नु पर्दछ। अब यसका लागि सरकार नै अग्रसर हुनुपर्छ।’ साथै नेता सिंहले वर्तमान परिस्थितिमा अर्लिइलेक्शनको कुनै सम्भावना नभएको समेत बताए। उनले देशमा विधिको शासन स्थापना गराउन र संविधानको रक्षाको लागि वर्तमान सरकार बनेकाले संविधान अनुसार नै तोकिएको समयमा निर्वाचन हुने बताए।
‘कुनै व्यक्ति विशेष र पार्टी विशेषको रुचिमा अर्लिइलेक्शन हुँदैन। संविधानको व्यवस्था अनुसार निर्वाचन हुन्छ,’ नेता सिंहले भने। उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै जनतामा जानुपर्ने धारणासमेत राखेका थिए। कांग्रेस जनताको पार्टी भएको र जनताले विश्वास गर्ने भएकाले आगामी चुनावमा काँग्रेसले गठबन्धन नगरी एक्ले जनतामा जानु पर्नेमा उनको जोड छ।
साथै कार्यक्रममा नेता सिंहले प्रजातन्त्र प्राप्तिको लागी गणेशमान सिंहले गरेको योगदान स्मरण गरेका थिए। कांग्रेस स्थापना र देशमा प्रजातन्त्र स्थापनाको लागि सर्वमान्य नेता गणेशमान सिंहको महत्त्वपूर्ण योगदान रहेको भन्दै नेता सिंहले गणेशमानले देखाएको बाटो वर्तमान कांग्रेसले पछ्याउनु पर्ने बताए।
वि।सं २०४६ सालको परिवर्तन पछि तत्कालीन राजाबाट प्रधानमन्त्री हुने प्रस्ताव आउँदा अस्वीकार गरी गणेशमान सिंहले जनताले छानेका व्यक्ति प्रधानमन्त्री हुनुपर्दछ भन्ने सन्देश त्यतिबेला नै प्रवाह गरेको उनले बताए। नेता सिंहले गणेशमान सिंह जन्मजयन्तीको अवसरमा शोभा भगवतीमा रहेको उनको सालिकमा माल्यार्पण गरेका थिए।