×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

तीन प्रदेशमा समानुपातिकतर्फको मतपत्र ढुवानी

तीन प्रदेशमा समानुपातिकतर्फको मतपत्र ढुवानी

काठमाडौं- आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि तीन वटा प्रदेशमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार आज दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, ललितपुर, भक्तपुर र काठमाडौं जिल्लामा मतपत्र ढुवानी भएको छ ।

प्रदेश १, मधेस र बागमती प्रदेशका सबै जिल्लाका सबै निर्वाचन क्षेत्रमा मतपत्र ढुवानी सम्पन्न भइसकेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फ दुई करोड २२ लाख २५ हजार मतपत्र ढुवानी भएको आयोगले जनाएको छ । प्रदेश सभातर्फ एक करोड १४ लाख ९९ हजार तथा प्रतिनिधिसभाका लागि एक करोड सात लाख २६ हजार मतपत्र रहेका छन् ।

ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, भोजपुर, सङ्खुवासभा, धनकुटा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, सिराहा, सप्तरी, धनुषा, महोत्तरी, नुवाकोट, रसुवा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही र सिन्धुली जिल्लामा यसअघि नै समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र ढुवानी भइसकेको आयोगले जनाएको छ ।

समानुपातिकतर्फ महिलाको सङ्ख्या ५५ प्रतिशत

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ महिला उम्मेदवारको सङ्ख्या ५५ प्रतिशत बढिरहेको देखिएको छ । प्रतिनिसभातर्फ समानुपातिक उम्मेदवारको कूल सङ्ख्या दुई हजार चार सय दुई छ । यसमा महिला उम्मेदवारको सङ्ख्या एक हजार तीन सय १३ छ, भने पुरुष उम्मेदवारको सङ्ख्या एक हजार ८९ छ । निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेशसभातर्फ महिला समानुपातिक उम्मेदवारको सङ्ख्या दुई हजार चार सय २६ छ ।

प्रदेशसभाको समानुपातिकतर्फ पुरुष उम्मेदवारको सङ्ख्या एक हजार छ सय २९ छ । प्रदेशसभाको समानुपातिकतर्फ कूल चार हजार ५५ जनाको उम्मेदवारी कायम भएको छ । प्रदेश १ मा चार सय छ महिला र दुई सय ५५ पुरुष, मधेसमा पाँच सय ७० महिला र तीन सय ७७ पुरुष, बागमतीमा चार सय ७१ महिला र तीन सय ५४ पुरुष, गण्डकीमा दुई सय २१ महिला र एक सय ४५ पुरुष, लुम्बिनीमा चार सय तीन महिला र दुई सय ५४ पुरुष, कर्णालीमा एक सय ३१ महिला र ९१ पुरुष तथा सुदूरपश्चिम प्रदेशमा दुई सय २४ महिला र एक सय ५३ पुरुष उम्मेदवार रहेका आयोगले जनाएको छ ।

आगामी मङ्सिर ४ गते देशभर एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदैछ । सो निर्वाचनमा ९१ लाख ४० हजार आठ सय छ पुरुष, ८८ लाख ४७ हजार पाँच सय ७९ महिला र एक सय ८५ अन्य गरी कूल एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताले मतदान गर्दैछन् । देशभर १० हजार आठ सय ९२ मतदानस्थल र २२ हजार दुई सय २७ मतदान केन्द्र रहनेछन् ।

प्रतिकृया दिनुहोस्