झापा- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावमा जनताले गठबन्धनलाई ठेगान लगाउने दाबी गरेका छन् । गठबन्धन जोसुकैले गरे पनि सबैखाले गठबन्धनविरुद्ध एक्लै लड्न एमाले तयार रहेको उनले बताए ।
गृहनगर झापाको दमकमा स्वतन्त्र मजदूर संगठनको सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जतिवटा दलको गठबन्धन बने पनि त्यो नेताको मात्र गठबन्धन भएको भन्दै त्यसमा जनता सहभागी नरहेको बताए । ‘गठबन्धन जो सुकैले गरुन्, एमालेको सरकार बन्छ’, ओलीले भने, ‘किनभने गठबन्धनमा जनता छैनन्, नेतामात्र सामेल छन् । भ्रष्ट नेताहरुको अपराधी गठबन्धनलाई जनताले पराजित गर्नेछन् ।’
पूर्वप्रधानमन्त्री ओलीले राजनीतिक रुपमा नसकेपछि प्रचण्ड–माधवहरुले कम्युनिष्ट पार्टीको सरकार ढाल्न प्रतिक्रियावादीको सहारा लिएर परमादेशमार्फत गठबन्धन बनाएको आरोप लगाए । ओली चुनावी तयारीका सिलसिलामा विहीवारदेखि गृहजिल्ला झापाका विभिन्न कार्यक्रममा सहभागी भइरहेका छन् ।