काठमाडौं - नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई) पदमा नयाँ भर्ना खुलाएको छ। प्रहरी प्रधान कार्यालयले शुक्रबार एक विज्ञापन प्रकाशित गर्दै इच्छुक तथा योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो।
प्रहरीले जनपद समूहतर्फ २१ जना इन्स्पेक्टर र ४३८ जना असईका लागि आवेदन माग गरेको छ।
आवेदन दिने समय र प्रक्रिया
इन्स्पेक्टर पदका लागि पुस ६ गतेदेखि माघ ५ गतेसम्म र असई पदका लागि पुस ९ गतेदेखि माघ ८ गतेसम्म दरखास्त दिन सकिनेछ। दरखास्त फाराम नेपाल प्रहरीको अनलाइन प्रणालीमार्फत भर्न सकिने व्यवस्था मिलाइएको छ।
दस्तुर कति लाग्छ?
इन्स्पेक्टर पदमा आवेदन दिँदा १ हजार २ सय रूपैयाँ दस्तुर लाग्नेछ भने समावेशी समूहतर्फ पनि आवेदन दिँदा प्रत्येक समूहका लागि थप २४० रूपैयाँ शुल्क बुझाउनुपर्नेछ।
त्यस्तै, असई पदका लागि ५०० रूपैयाँ दस्तुर तोकिएको छ। एकभन्दा बढी समावेशी समूहमा दरखास्त दिँदा प्रत्येक समूहका लागि थप १०० रूपैयाँ शुल्क लाग्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
इन्स्पेक्टर पदका लागि दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्नेछ भने असईका हकमा १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्नेछ।
शैक्षिक योग्यतातर्फ इन्स्पेक्टरका लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा स्नातक तह वा सो सरह र असईका लागि प्रमाणपत्र तह (प्लस टु) वा सो सरह उत्तीर्ण गरेको हुनुपर्नेछ।