काठमाडौँ — सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखमा सरुवा गरेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई सीआईबीको जिम्मेवारी दिने निर्णय गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ।
हाल नेपाल प्रहरीको प्रदेश समन्वय विभागमा कार्यरत रहेका एआईजी केसी नक्कली भुटानी शरणार्थी प्रकरणको सफल अनुसन्धानको नेतृत्व गरेर चर्चामा आएका थिए। उपत्यका अपराध अनुसन्धान कार्यालयमा रहँदा उनले लामो समयदेखि अलपत्र परेको यो संवेदनशील प्रकरणलाई अघि बढाएका थिए।
२०७९ चैत १२ गते केसीको नेतृत्वमा रहेको टोलीले नक्कली भुटानी शरणार्थी बनाएर नेपाली युवालाई अमेरिका पठाउने गिरोहका सदस्य केशव दुलाल, टंक गुरुङ र सानु भण्डारीलाई पक्राउ गरेपछि यो प्रकरणले नयाँ मोड लिएको थियो। प्रारम्भिक सोधपुछकै क्रममा भण्डारीले तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईदेखि अख्तियार प्रमुख प्रेमकुमार राईसम्मको नाम लिएका थिए।
पछि, यो प्रकरणमा संगठित अपराधको कसुरमा अनुसन्धान अघि बढ्यो र पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे लगायतका उच्च पदस्थ व्यक्तिहरू पक्राउ परेका थिए।
खाँणलाई पक्राउ गर्न एसएसपी केसी नेतृत्वको टोली नै उनको निवास पुगेको थियो, जसका कारण कांग्रेस नेतृत्व उनीसँग रुष्ट रहेको बताइन्छ। सोही कारणले गर्दा सरकारमा कांग्रेस रहँदासम्म उनले महत्त्वपूर्ण पोस्टिङ पाउन सकेका थिएनन्। अब भने उनले सीआईबीजस्तो संवेदनशील निकायको नेतृत्व गर्ने अवसर पाएका छन्। उनको यो सरुवालाई नक्कली भुटानी शरणार्थी प्रकरणमा उनको महत्त्वपूर्ण भूमिकाको कदरका रूपमा पनि हेरिएको छ।