रुपन्देही- रुपन्देहीको तिलोत्तमा नगरपालिकाले प्राविधिक विषय अध्यापनको लागि सिटी कलेज सञ्चालन गर्ने तयारी गरे पनि सम्बन्धन प्राप्त नहुँदा ढिलाइ भएको छ । नगरपालिकाले सिटी कलेज सञ्चालन गर्न भवन तयार गरेको भएपनि सम्बन्धन प्राप्त नहुँदा कलेज सञ्चालनमा ढिलाइ भएको हो ।
नगरपालिकाले सिटिइभिटीसँग स्वास्थ्यका तीन वर्षे डिप्लोमा विषयका कक्षा सञ्चालन गर्न सम्बन्धन माग गरेको छ । तर, अझैसम्म सम्बन्धन प्राप्त नभएको नगर प्रमुख वासुदेव घिमिरेले बताए । नगरका जेहेन्दार, गरिब विद्यार्थीहरूको समेत प्राविधिक विषय अध्ययनमा पहुँच बढाउने उद्देश्यले नगरपालिकाले सिटी कलेजको अवधारणा ल्याएर भौतिक संरचना निर्माण गरेको हो ।
प्रारम्भिक चरणमा डिप्लोमा तहका कक्षा सञ्चालन गर्ने र क्रमशः स्नातक तहका कार्यक्रम पनि सञ्चालन गर्ने नगरपालिकाको योजना छ । नगरपालिकाले चालु शैक्षिक सत्रबाट कक्षा सञ्चालन गर्ने गरी भौतिक पूर्वाधार निर्माणको काम सके पनि सम्बन्धन प्राप्त नहुँदा यस वर्ष सम्भव नभएको नगर प्रमुख घिमिरेले बताए । तिलोत्तमा नगरपालिकाले नगरको मेघा प्रोजेक्टका रूपमा तिलोत्तमा सिटी कलेज निर्माण गरेको हो ।
नगरपालिकाले वडा नम्बर १४ खैरियामा दुई बिगाहा परिसरमा सिटी कलेजको लागि भवन निर्माण गरेको हो । साबिकको नर्मदेश्वर प्रावि रहेको स्थानमा एक वर्षको अवधिमा नगरपालिकाले सुविधा सम्पन्न ३ तले भवन निर्माण गरेको छ । ३ करोड ७७ लाख लागतमा भवन निर्माण भएपछि सुविधा सम्पन्न तरिकाले प्राविधिक शिक्षाका कक्षा सञ्चालन गर्न सहज हुने नगरपालिकाको बुझाइ छ । तर, सम्बन्धन प्राप्त नहुँदा नगरपालिकाले सोचेअनुसार काम गर्न नसकेको वडाध्यक्ष सोहनप्रसाद चौधरीले बताए ।
नगरपालिकाले सिटिइभिटीसँग सम्बन्धनको लागि फाइल सम्बन्धित निकायमा बुझाइ सकेको छ भने यो विषयमा धेरै पटक फ्लो गरिसकेको छ । स्वास्थ्य विषयका विभिन्न विषय पढाउने र विद्यार्थीहरूलाई नगरका स्वास्थ्य संस्था तथा खुल्ने तयारीमा रहेका नगर अस्पतालमा खटाउन सकिने नगरपालिकाको बुझाइ छ ।
तिलोत्तमामा १५ शैंयाका दुई वटा सिटी अस्पताल स्थापनाको लागि भौतिक पूर्वाधार निर्माणको काम अघि बढेको छ । अपुग हुने संरचना तथा भौतिक पूर्वाधार निर्माणको लागि आन्तरिक स्रोतबाटै व्यवस्थापन गर्न सकिने भएपनि सम्बन्धन नपाउँदा सबै काम रोकिएको जनप्रतिनिधिहरू बताउँछन् ।