काठमाडौं - कोरोना संक्रमितको उपचारका लागि बेड उपलब्ध गराउन नसक्ने वक्तव्य जारी गरेपछि सरकारको चौतर्फी आलोचना भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण उच्च बिन्दुमा पुगिसकेकोले अब उपचारका लागि बेड समेत उपलब्ध गराउन नसकिने अवस्था आएको उल्लेख गरेको थियो ।
यसप्रति राजनीतिक दल तथा मानवअधिकारवादी संघसंस्थाहरुले गम्भीर आपत्ति प्रकट गरेका छन् । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कोरोना संक्रमित बिरामीका लागि अस्पतालमा बेड छैन भन्नु सरकारको लाचारीपन भएको टिप्पणी गरेको छ ।
संकटको बेलामा सरकारले नागरिकलाई ढाडस दिनुपर्नेमा उल्टै गैरजिम्मेवार बनेको कांग्रेसको आरोप छ । प्रवक्ता विश्वप्रकाश शर्माले अस्पतालमा बेड छैन भन्नु सरकारको इतिहासकै सबैभन्दा गैरजिम्मेवार अभिव्यक्ति रहेको आरोप लगाउनुभयो ।
यस्तै नकपा माओवादी केन्द्रले पनि बेड उपलब्ध गराउन नसकिने सरकारी सूचनाप्रति गम्भीर आपत्ति प्रकट गरेको छ । माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकारको अभिव्यक्तिले नागरिकमा त्रास फैलाएको बताउनुभयो ।
कोरोना रोकथाम तथा न्यूनीकरणमा नलागेर सरकारले गम्भीर लापरबाही गरेको उहाँको भनाइ छ । पूर्वऊर्जामन्त्री समेत रहेका नेता पुनले सरकारले नै लापरबाही गरेर भिड जम्मा गर्ने र पछि उपचार गर्न सक्दिन भनेर हात उठाउनु लज्जास्पद भएको टिप्पणी गर्नुभयो ।
नेता पुनले कोरोना संक्रमण नियन्त्रणका लागि निजी अस्पतालसँग समन्वय गर्नुपर्ने र थप आइसोलेसन सेन्टरका लागि विभिन्न सार्वजनिक ठाउँहरुमा युद्धस्तरको काम थाल्नुपर्ने माग गर्नुभयो ।
सरकारले अन्य राजनीतिक दल र आम जनतालाई परिचालन गर्न नसकी जनतालाई जर्बजस्त मृत्युको मुखमा धकेल्ने प्रयत्न गरको भन्दै उहाँले कोरोना नियन्त्रणका लागि सर्वदलीय संयन्त्र बनाउन प्रधानमन्त्रीसँग माग गर्नुभयो ।
यस्तै विवेकशील साँझा पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल चिकित्सक संघ लगायत राजनीतिक दल तथा संघ संस्थाले पनि बेड उपलब्ध गराउन नसकिने सरकारी वक्तव्यको चर्काे आलोचना गरेका छन् ।
तर सरकारले भने कोरोना संक्रमणको नियन्त्रणका लागि सरकार एक्लैको प्रयास सार्थक नहुने बताएको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोना महामारीसँग जुध्न सरकार र नागरिकले मिलेर काम गर्नुपर्ने बताउनुभयो ।
अघिल्लो वर्ष कोरोना संक्रमण बढेपछि सरकारले पहिलो पटक आएको भाइरसका कारण पर्याप्त काम गर्न नसकेको बताएको थियो । तर यो वर्ष महामारीको दोस्रो लहर सृजना भएपछि विगतको अनुभवबाट पाठ सिक्नुको साटो उपचारका लागि बेड उपलब्ध गराउन सकिँदैन भनेर सरकारले लत्तो छाडेको छ ।
सत्ता जोगाउन केन्द्र र प्रदेशमा मन्त्रीहरु थप्दै जाने तर महामारीबाट आफ्ना नागरिक जोगाउन अस्पतालमा बेड थप्न नसक्ने ओली सरकारबाट नागरिक आजित बनेका छन् ।
यो समाचार नेपाली नेटवर्कबाट लिईएको हो ।