काठमाडौँ - यस वर्षको मनसुन बिदा भएको छ । मनसुन सुरु हुनुअघि ठूलो वर्षा हुने र ठूूलो जनसङ्ख्या प्रभावित हुने अनुमान गरिए पनि मनसुन पूर्वानुमानभन्दा कमजोर रहँदा प्राकृतिक विपत्बाट अनुमानभन्दा कम क्षति पुगेको छ । जल तथा मौसम विज्ञान विभागले यस वर्ष नेपालमा सरदरभन्दा बढी पानी पर्ने पूर्वानुमान गरेको थियो ।
मनसुन सकिने समयसम्म पनि नेपालको पश्चिम भेगमा मनसुन सक्रिय हुन सकेन । मनसुन अन्त्य हुने सम्भावित मिति असोज १६ गते अर्थात् अक्टोबर २ थियो । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण प्राधिकरणका प्रमुख अनिल पोखरेलले भन्नुभयो, “त्यसको भोलिपल्ट असोज १७ देखि बल्ल नेपालको पश्चिम भेगमा मनसुन सक्रिय भयो, पश्चिमी भेगको क्षति बिर्सने हो भने यो वर्षको मनसुन विगतभन्दा सुखद रह्यो ।”
त्यस समय मनसुन पश्चिम नेपालमा सक्रिय बन्यो । मनसुन बाहिरिने मितिपछि भएको बेमौसमी वर्षाले मनसुन अवधिमा भएकोभन्दा बढी मानवीय क्षति यसपालि पश्चिम नेपालमा भएको दाबी उहाँले गर्नुभयो । जेठ २२ गते पूर्वी भूभाग हुँदै नेपाल भित्रिएको मनसुन अनुमानित मितिभन्दा १४ दिनपछि असोज ३० गते सम्पूर्ण रूपमा बाहिरिएको थियो ।
जल तथा मौसम विज्ञान विभागले दक्षिण एसियाली जलवायु विश्लेषण मञ्च (सास्कोफ) र नेपालको जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको यस वर्ष सरदरभन्दा बढी वर्षा हुन्छ भन्ने मनसुनी विश्लेषणअनुसार नेपाल सरकारको गृह मन्त्रालय, राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलगायतका सरोकारवाला निकायले उच्च तयारी गरेका थिए । सोहीअनुसार मनसुन पूर्वतयारी प्रतिकार्य योजना–२०७९ मा २० लाखभन्दा बढी मानिस विभिन्न खालका विपत्बाट प्रभावित हुने अनुमान गरिएको थियो ।
पोखरेलले थप्नुभयो, “तर पूर्वानुमान नमिल्दा हाम्रो तयारी धेरै कार्यान्वयन गर्नु परेन, दशैँको समय मात्र अलिक बढी तनावपूर्ण रह्यो ।” उहाँका अनुसार दशैँमा कर्णाली र सुदूूरपश्चिमका जिल्लामा पहिरोले अकल्पनीय क्षति हुनुमा पहिरोको पूर्वानुमान गर्न कठिनाइ भएकाले हो ।
भीरका घर बग्नु, पहाडको फेदी र खोलाको छेउमा पहिरोले मानिस बगाउनुमा व्यवस्थित बसोबास नहुनु कारक रहेको उहाँले बताउनुभयो । पहिरोका सामान्य लक्षणबाहेक कतिखेर आउँछ भनेर पूर्वानुमान गर्न सकिँदैन । मौसम पूर्वानुमान महाशाखाको पूर्वसूचनाले महìवपूर्ण भूमिका खेलेको गृह मन्त्रालयस्थित विपत् तथा द्वन्द्व व्यवस्थापन महाशाखाका प्रमुख प्रदीपकुमार कोइरालाले बताउनुभयो । कोसीको बाढीले उदयपुरको बेलका नगरपालिकाको बस्ती डुबाउनु, दाङ, बर्दिया, कञ्चनपुरमा डुबान हुनुबाहेक अन्य ठूला घटना बाढीले यस वर्षको मनसुनमा निम्त्याएन । उहाँले भन्नुभयो, “तयारी देशैभरका लागि उच्च थियो, त्यति हुँदा पनि पहिरोले पछिल्लो समय बढी क्षति भयो ।”
-गोरखापत्रबाट