पोखरा- आम निर्वाचनमा प्रदेश सभातर्फ गण्डकीमा ठूलो दल भएकाले आफ्नै नेतृत्वमा सरकार बन्नुपर्ने निर्णय नेपाली कांग्रेस गण्डकीले गरेको छ । आइतबार बसेको प्रदेश पदाधिकारी बैठकले कांग्रेसकै नेतृत्वमा प्रदेश सरकार गठनको लागि पहल थाल्ने निर्णय गरेको हो ।
कांग्रेसलाई ठूलो पार्टी बनाउने ५ दलीय गठबन्धन भएकोले कांग्रेसकै नेतृत्वमा सरकार गठन गर्नको लागि आवश्यक पहल र छलफल गर्ने निर्णय गरेको सभापति शुक्रराज शर्माले बताए ।
कांग्रेसबाट प्रदेशमा १८ सिट प्रत्यक्ष चुनाव जितेको छ भने प्रतिनिधि सभाका १० सिटमा कांग्रेस विजयी भएको छ । गठबन्धनले भने प्रतिनिधिसभामा १३ तथा प्रदेशसभामा २३ सिट चुनाव जितेको छ । प्राकृतिक न्यायको सिद्धान्त अनुसार ठूलो पार्टीले नै सरकारको नेतृत्व गर्ने भएकोले त्यसको हकदार कांग्रेस हुने शर्माले बताए ।