काठमाडौं - सरकारको कामलाई थप प्रभावकारी र परिणाममुखी बनाउने उद्देश्यले प्रधानमन्त्री केपी शर्मा ओलीले आज उपप्रधानमन्त्री तथा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्दै हुनुहुन्छ । यो सम्झौता चालु आर्थिक वर्षमा सम्पन्न गरिने मुख्य कामहरू र हासिल गरिने लक्ष्यमा केन्द्रित हुनेछ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो १ बजे आयोजना हुने विशेष कार्यक्रममा मन्त्रालयहरूको वार्षिक प्रगति समीक्षा गरिनेछ र त्यसलगत्तै सम्झौतामा हस्ताक्षर गरी आदानप्रदान गरिनेछ ।
प्रधानमन्त्रीका निजी सचिव विनोदबहादुर कुँवरका अनुसार, गत वर्षको तुलनामा यसपटक झण्डै एक महिनाअघि नै सम्झौता हुन लागेको हो । समयमै सम्झौता हुँदा वर्षभरिका कामलाई छिटो र प्रभावकारी बनाउन बलियो आधार तयार हुने उहाँले बताउनुभयो । गत वर्ष यस्तो सम्झौता भदौ २७ गते भएको थियो ।
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न पूर्वाधार निर्माण र सेवा प्रवाहमा सुधारजस्ता कार्यहरू तोकिएकै समयमा सम्पन्न गराउन प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो कार्यकालदेखि नै यस्तो कार्यसम्पादन सम्झौताको अभ्यास थाल्नुभएको हो ।
प्रधानमन्त्रीसँग मन्त्रीहरूले सम्झौता गरिसकेपछि, मन्त्रीहरूले आ-आफ्ना मन्त्रालयका सचिवहरूसँग पनि यस्तै कार्यसम्पादन सम्झौता गर्नुपर्ने व्यवस्था रहेको छ । यसले सरकारको कामलाई तल्लो तहसम्म जवाफदेही बनाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।