×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

विभाजनको संघारमा विवेकशील साझा पार्टी

विभाजनको संघारमा विवेकशील साझा पार्टी

काठमाडौं - वैकल्पिक नयाँ शक्ती भनिने विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डले छुट्टाछुट्टै समयमा बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएका छन्।

बैठकका एजेन्डामा कुरा नमिलेपछि अध्यक्ष मिश्र र संयोजक पाण्डेले बिहीबार बेग्लाबेग्लै समयमा केन्द्रीय समितिको बैठक गर्न लागेका छन्।

बैठक भर्चुअल रूपमा हुनेछ।

‘पार्टीमा सिर्जना भएको वर्तमान वैचारिक बहस, उत्पन्न गतिरोध र त्यसको निकासबारे छलफल गर्न अध्यक्षले केन्द्रीय समिति बैठक बोलाउनुभएको छ,’ विवेकशील साझाका प्रवक्ता शरदराज पाठकले भने, ‘पटक-पटक कुराकानी गर्दा पनि अध्यक्ष र संयोजकबीच एजेन्डामा सहमति हुन सकेन। त्यसपछि पार्टीभित्र उत्पन्न गतिरोध अन्त्य गर्न अध्यक्षले प्रचलित अभ्यास र कानुनको सहारा लिएर गाँठो फुकाउन केन्द्रीय समिति बैठक बोलाउनुभएको छ।’

अध्यक्ष मिश्रले इमेल गरेर केन्द्रीय समिति बैठक बस्ने जानकारी केन्द्रीय सदस्यहरूलाई पठाएपछि संयोजक पाण्डेले पनि बेग्लै बैठक बोलाएका छन्।

पार्टी विधानको दफा २०(१०) अनुसार केन्द्रीय अध्यक्ष र संयोजकको सहमतिमा बैठक बोलाउने र एजेन्डा तय गर्ने गरिएकोमा यसपटक त्यो प्रयास सफल हुन नसकेको भन्दै संयोजक पाण्डेले पनि इमेल गरेर बैठक बोलाएका छन्।

‘पार्टीका अध्यक्षले उहाँकै शब्दमा ‘मार्ग परिवर्तन’ गर्नु भएको कारण पार्टीलाई लामो समयसम्म अनिर्णयको बन्दी बनाउन उचित नदेखिएको हुँदा पार्टी विधानकै दफा ६१ (३) ले केन्द्रीय संयोजकलाई दिएको अधिकार प्रयोग गरी विवेकशील साझा पार्टीको केन्द्रीय समितिको बैठक आव्हान गरेको छु,’ संयोजक पाण्डेले केन्द्रीय सदस्यहरूलाई पठाएको इमेलमा उल्लेख गरेका छन्।

संयोजक पाण्डेले भदौ १७ गते बिहीबार बिहान ११ बजेका लागि भर्चुअल रूपमा बैठक राखेका हुन्।

बैठक सञ्चालन कार्यविधि पारित गर्ने, विधान कार्यदलले पेश गरेको पार्टीको विधान मस्यौदामाथि छलफल गरी पारित गर्ने, न्याय तथा सुशासन आयोगको गठन, वैकल्पिक पाठशालाको स्थापना, पार्टीमा देखिएको वैचारिक विचलन र आगामी कार्यदिशाबारे, समसामयिक राजनीतिक प्रस्ताव, एकताको महाधिवेशनबारे, पार्टी प्रवक्ता नियुक्ति, पार्टी सङ्गठन सुदृढीकरण अभियानको लागि कार्यदल गठन गर्ने, प्रमुख राष्ट्रिय मुद्दा (युवाका मुद्दा, सूचनाको हक, नोट चल्ने भोट नचल्ने आदि) मा अभियान सञ्चालन गर्नेलगायत एजेन्डामाथि छलफल गर्न संयोजक पाण्डेले केन्द्रीय समिति बैठक राखेका हुन्।

प्रवक्ता शरदराज पाठकले भने संयोजक पाण्डेले आफूखुसी एजेन्डा तय गरेर केन्द्रीय समिति बैठक राखेको बताए।

‘मनोगत रूपमा कतिपय एजेन्डा राखेर बिहीबारकै मिति राखेर केन्द्रीय समिति बैठक बोलाउनुभएको छ। संयोजकलाई बैठक सञ्चालन गर्न अधिकार छ तर बैठक बोलाउने अधिकार छैन,’ प्रवक्ता पाठकले भने।

पार्टीमा देखिएको गतिरोध अन्त्य गर्न बहुमत केन्द्रीय सदस्यले माग गरेपछि बैठक बोलाइएको पनि पाठकले बताए।

‘बहुमत केन्द्रीय सदस्यको माग स्वीकार गरेर अध्यक्षले बैठक बोलाउनुभयो। तर संयोजक मिलनजीले सहमति नभएका धेरै एजेन्डा राखेर बैठक बोलाउनुभएको छ। नभएको अधिकार प्रयोग गर्न उहाँले खोज्नुभएको छ,’ पाठकले भने।

अध्यक्ष मिश्रले भदौ १७ गते बिहीबार नै १२:३० बजे बैठक बोलाएका छन्। पार्टीमा निकास निकाल्नका लागि अध्यक्षले बैठक बोलाएको पनि उनले बताए।

‘एक-डेढ महिनाको अवधिमा कयौं पटक अध्यक्षले संयोजकसँग कुराकानी गर्नुभयो। तर उहाँहरू सहमत हुन सक्नुभएन। तर पार्टीलाई सधैं अनिर्णयको बन्दी बनाइराख्न त भएन नि!,’ पाठकले भने।

विवेकशील साझा पार्टीमा पछिल्लो पटक अध्यक्ष मिश्रले संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहसहितको विचार अगाडि सारेका थिए। त्यसको केही समयपछि संयोजक पाण्डे, नेताहरू नेता रञ्जु दर्शना, केशव दाहाल र राजेन्द्र पंगेनीले अर्को प्रस्ताव छलफलका लागि ल्याएका थिए।

उनीहरूले मुख्यगरी गणतन्त्रको सुदृढिकरण, धर्मनिरपेक्षताको रक्षा तथा संघीयतामा सुधार आवश्यकता रहेको प्रस्तावमा उल्लेख गरेका थिए।

यसअघि तत्कालीन विवेकशील पार्टी र साझा पार्टी  २०७४  साउन ११ मा एक भएका थिए। त्यसपछि २०७५ पुसमा उनीहरू विभाजित भएका थिए। 
२०७७ मंसिरमा विवेकशील र साझा पार्टी एकता भएको थियो। २६ सदस्यीय सचिवालय र ६५/६५ सदस्यीय केन्द्रीय समिति बनाउने त्यसबेला सहमति भएको थियो। एकताका बेला ६ महिनाभित्र महाधिवेशन गर्ने सहमति भए पनि महाधिवेशन नहुँदै विवेकशील साझा पार्टी फेरि फुटको संघारमा पुगेको हो। 

 

प्रतिकृया दिनुहोस्