भैरहवा- गृहमन्त्री बालकृष्ण खाँणले मुलुकमा शान्ति सुरक्षाको अवस्था मजबुत रहेकाले ढुक्क भएर मतदान गर्न आग्रह गरेका छन् । “सुरक्षाको सम्पूर्ण तयारी पूरा भएको छ, विभिन्न कार्ययोजना बनाएर निर्वाचन सुरक्षा व्यवस्था चुस्त बनाएका छौँ । सबै देशवासीले आ–आफ्ना मतदान केन्द्रमा गएर ढुक्क भएर मतदान गर्नुहोला,” गृहमन्त्री खाँणले भने, “अहिले पनि सुरक्षा व्यवस्था चुस्त बनाएका छौँ ।”
हिमाल, पहाड र तराईमा निर्वाचन क्षेत्र र जिल्लाको संवेदनशीलता हेरेर सोहीअनुसारको सुरक्षा व्यवस्था अपनाइएको उनले जानकारी दिए । मुलुकका चारै निर्वाचन निकायका बीचमा चुस्त समन्वय रहेको र मतदाता, उमेदवार, कर्मचारी, निर्वाचनमा खट्ने सबै व्यक्ति, मतपत्रको सुरक्षा गर्नु राज्यको कर्तव्य भएको उनले जिकिर गरे ।