×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

इन्धन र औषधि अभावले श्रीलङ्काका अस्पताल बन्द हुँदै

इन्धन र औषधि अभावले श्रीलङ्काका अस्पताल बन्द हुँदै

कोलम्बो- चरम इन्धन र औषधि अभावले श्रीलङ्काका अस्पताल प्रायः बन्द हुने अवस्थामा पुगेका छन् । शल्यक्रिया उपकरण र जीवन बचाउने औषधिहरूको आपूर्ति लगभग ठप्प भएपछि अस्पतालहरूको यस्तो नाजुक अवस्था आएको हो ।

चिकित्सक र बिरामीहरू समेत यातायात मार्फत सहजरूपमा हिँडडुल गर्न सक्ने अवस्थामा नभएको सञ्चार माध्यमहरूले जनाएका छन् । श्रीलङ्काले ८५ प्रतिशत भन्दा बढी औषधि र चिकित्सकीय उपकरण आयात गर्दछ तर यतिबेला विदेशी मुद्राको अभावले आयात सहज गर्न सकिरहेको छैन ।

देशको अर्थव्यवस्था अत्यन्त नाजुक अवस्थामा चलिरहेको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले देशको समग्र सार्वजनिक स्वास्थ्य सेवाहरूको वर्तमान अवस्थाको बारेमा सत्य तथ्य विवरण सार्वजनिक गर्न आलटाल गरिरहेका छन् ।

यहाँका ९० प्रतिशतभन्दा बढी जनता सार्वजनिक स्वास्थ्य सेवामा निर्भर छन् जसको अवस्था अहिले कन्त बिजोक बनेको छ ।

सञ्चार माध्यममा सार्वजनिक समाचार अनुसार सरकारी अस्पतालमा कार्यरत डाक्टरहरूले आपतकालीन शल्यक्रिया गर्न समेत कटौती गर्न बाध्य भएको बताएका छन्। त्यस्तै अत्यावश्यक औषधिको समेत आपूर्ति बन्द प्रायः रहेको छ ।

श्रीलङ्काको कुनै समयको बलियो मानिने स्वास्थ्य सेवा प्रणाली समेत अहिले खतरामा छ, संयुक्त राष्ट्रसङ्घ निवासी संयोजक हाना सिंगर-हाम्डीले एक विज्ञप्तिमार्फत जनाएकी छन् ।

सबैभन्दा कमजोरहरूले र निमुखा जनताले सबैभन्दा ठुलो प्रभावको सामना गरिरहेका छन्, उनले भनिन्।

विश्व बैङ्कले श्रीलङ्कालाई एन्टि-रेबिज भ्याक्सिनलगायत तत्काल आवश्यक पर्ने औषधिहरूको भुक्तानी गर्न मद्दत गर्न कोषलाई निर्देशन दिएको छ। यसैबीच भारत, बङ्गलादेश, जापानलगायत देशले पनि श्रीलङ्कालाई स्वास्थ्य सेवाको क्षेत्रमा सहयोग गर्दै आएका छन् । यद्यपि यहाँको स्वास्थ्य सेवा प्रणालीको अवस्थामा भने तत्काल सुधार देखिएको छैन।

नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमासिंघेले सुधारका निम्ति कडा कदम नचाले आगामी वर्षको अन्त्यसम्ममा मुलुकको आर्थिक सङ्कट झनै बिग्रँदै जाने देखिन्छ ।

जारी चरम मुद्रास्फीतिले खाद्यान्नको मूल्यहरू यति उच्च बनाएको छ कि धेरै घरपरिवारहरू छाक टार्न समेत सङ्घर्ष गरिरहेका छन् ।

सन् २०२२ को सुरुवात देखि नै श्रीलङ्काले बढ्दो आर्थिक सङ्कटको सामना गरिरहेको छ। यसै बीच संयुक्त राष्ट्र सङ्घले चेतावनी दिँदै ५७ लाख मानिसहरूलाई तत्काल मानवीय सहायता आवश्यक रहेको बताएको छ ।

श्रीलङ्काको अर्थतन्त्रले उत्पादनको लागि आधारभूत सामग्रीको अनुपलब्धता, मार्च २०२२ देखि मुद्राको ८० प्रतिशत अवमूल्यन, विदेशी सञ्चितिको अभाव र अन्तर्राष्ट्रिय ऋण दायित्व पूरा गर्न नसकेका कारण तीव्र सङ्कुचनको सामना गरिरहेको छ ।

थुप्रै श्रीलङ्कालीहरूले खाद्यान्न र इन्धन लगायतका अत्यावश्यक वस्तुहरूको चरम अभावको सामना गरिरहँदा मार्चमा शान्तिपूर्ण विरोध प्रदर्शन सुरु भएको थियो जसले राजनीतिक परिवर्तन ल्याएको भए पनि आर्थिक अवस्थामा बने सुधारात्मक परिवर्तन भने ल्याउन सकेको छैन ।

आन्दोलनका कारण तत्कालीन प्रधानमन्त्री महिन्दा राजापाक्षेले मे ९ मा राजीनामा दिएका थिए भने उनका भाइ राष्ट्रपति गोटाबाया राजापाक्षेले जुलाई १३ मा देश छोड्न बाध्य भए र त्यसको भोलिपल्ट राजीनामा दिएका थिए ।

प्रतिकृया दिनुहोस्