×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

माधव भन्छन्- म प्रतिगमनकै मतियार बनेकाे भए याे देश विनाश हुन्थ्याे

माधव भन्छन्- म प्रतिगमनकै मतियार बनेकाे भए याे देश विनाश हुन्थ्याे

काठमाडाैँ- एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले चिन्तन-मनन नगर्दा सिङ्गाे समाज नै बिग्रने बताएका छन् । एकीकृत समाजवादीकाे विद्यार्थी विशेष कमिटीकाे कार्यक्रमलाई बुधबार काठमाडाैँमा सम्बाेधन गर्दै यस्ताे बताएका हुन् । ‘साेच्नुस् धेरै, दिमागले धेरै साेच्नुस् । जब हामी साेच्न छाड्छाैँ, चिन्तन-मनन गर्न छाेड्छाैँ । अनि त्यसकाे छाया समाजमा देखिन्छ । हामी साेच्नै छाड्याैँ भने, चिन्तन-मनन गरेनाैँ भने हामीले हतारमा गल्ती गरेर फुर्सदनमा पछुताउने हुन्छाैँ,’ उनले भनेका छन् ।

अध्यक्ष नेपालले विद्यार्थी तथा युवाहरूलाई उत्पादनसँग जाेड्नुपर्ने बताएका छन् । अझ कम्युनिष्टहरूकाे उद्देश्य नै यही हुनुपर्ने भनाइ उनकाे छ । ‘हामी विकासकाे नाउँमा धनी र गरिबबीच देखिने खाँडल मेट्न चाहन्छाैँ । युवाहरूलाई उत्पादनसँग जाेड्न चाहन्छाैँ । उत्पादनशील बन्न चाहन्छाैँ । उत्पादनशील जनशक्तिले मात्रै देशकाे विकास गर्न सक्छ,’ उनले भनेका छन्, ‘हाम्राे उद्देश्य यस्ताे हुनुपर्छ ।’

यस्तै उनले एकीकृत समाजवादी अरु दलभन्दा फरक भएकाे दाबी गरेका छन् । ‘हामी देशलाई बनाउने नेता/कार्यकर्ता उत्पादन गर्न चाहन्छाैँ । हामी लाेभी-पापीहरूकाे जमात तयार गर्न चाहन्नाैँ । हामी जनता चुस्ने नेता/कार्यकर्ता तयार गर्न चाहन्नाैँ । कुसंस्कृत राजनीति गर्ने नेताहरू बनाउँदैनाैँ,’ उनले भने, ‘हाम्राे पार्टी यस्ताे बनाउनुपर्छ । त्यसका लागि अहिल्यैबाट शुरू गर्नुपर्छ ।’

अध्यक्ष नेपालले आफूले कहिल्यै पनि प्रतिगमनकाे मतियार नबन्ने बताएका छन् । आफू प्रतिगमनकाे पक्षमा रहेकाे भए यसअघि नै देश विनाश हुने जिकिर उनकाे थियाे । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीकाे हैसियतमा संसद् विघटन गरेकाे प्रसङ्ग जाेड्दै उनले भने, ‘यदि मैले मात्रै प्रतिगमनकाे मतियार बनेकाे भए याे देश विनाश भइसक्थ्याे ।’

उनले वर्तमान गठबन्धन कमसेकम आमनिर्वाचनसम्म रहने बताएका छन् । कतिपयले गठबन्धन टुट्ने बताएकाेतर्फ ध्यान नदिन आह्वान गर्दै उने भने— ‘गठबन्धनले हामीलाई पनि राम्रै पारेकाे छ । ठिकै भएकाे छ । तर कमजाेरी के भयाे भने हामीले गठबन्धनलाई बढी भराेसा गर्‍याैँ । तर गठबन्धन हुनैपर्छ । यसलाई टुटाइहाल्नु हुन्न ।’

यस्तै उनले गठबन्धनकैरूपमा आसन्न राष्ट्रिय निर्वाचनमा जाने बताएका छन् ।

प्रतिकृया दिनुहोस्