काठमाडौँ - खाना पकाउने ग्यासको सिलिन्डर फेर्ने क्रममा आगलागी हुँदा अर्जुनधारा नगरपालिका–७ मा एका घरका तीन जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक सन्तोष आचार्यका अनुसार रोमनाथ खनालको घरमा नयाँ सिलिन्डर फेरेर बाल्ने क्रममा ग्यास चुहावट भई शनिबार साँझ ६ बजेतिर आगलागी भएको हो ।
आगलागीमा परी ४२ वर्षीय रोमनाथ, उनकी पत्नी ३८ वर्षीया दुर्गा र छोरा १८ वर्षीय पंकज खनाल घाइते भएका र उनीहरूको विराटनगरस्थित म्याक्स हस्पिटलमा उपचार भइरहेको प्रनाउ आचार्यले बताए । घाइतेमध्ये रोमनाथको अवस्था गम्भीर रहेको जनाइएको छ ।
बिर्तामोड नगरपालिकाको दमकल, स्थानीय बासिन्दा र प्रहरीले डेढ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए । आगलागीबाट खनाल परिवारको टिनको छानो भएको एकतले पक्की घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ । रासस