×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आजको मौसम : अधिकांश स्थानमा बदली र वर्षा, दिउँसोबाट मौसम क्रमशः सुधार हुने

आजको मौसम : अधिकांश स्थानमा बदली र वर्षा, दिउँसोबाट मौसम क्रमशः सुधार हुने

काठमाडौं - हाल मुलुकमा पश्चिमी वायु तथा भारतको उत्तर प्रदेशमा रहेको न्यून चापीय प्रणालीको प्रभावले अधिकांश स्थानमा पानी परेको छ। कर्णाली प्रदेशदेखि एक नम्बर प्रदेशका अधिकांश स्थानमा बिहान पानी परेको जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पुर्वामानुमान महाशाखाले जनाएको छ।

यो प्रणाली कमजोर भइसकेकाले आज दिउँसोबाट क्रमिक रूपमा मौसम सुधार हुने मौसमविद्‍ले पूर्वानुमान गरेका छन्।

‘कर्णाली प्रदेशदेखि प्रदेश १ सम्म कहीँ हल्का, कहीँ मध्यम खालको वर्षा भइरहेको छ। यो प्रणाली कमजोर भइसकेकाले आज दिउँसोबाट मौसममा क्रमिक सुधार आउँछ,’ मौसमविद मञ्जु वासीले भनिन्,‘केही दिनसम्म यो प्रणालीको असर देखिदैन।’

वासीका अनुसार काठमाडौं उपत्यकामा आज दिउँसो घाम लाग्ने र न्यानो हुने बताइन् ।

हाल प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहेको छ। प्रदेश १ का एक-दुई स्थानमा बिहान भएको हल्का वर्षा ६ बजेबाटै रोकिएको छ।

वासीका अनुसार गएराति काठमाडौं उपत्यकासहित अधिकांश स्थानमा मेघ गर्जनसहित पानी पनि परेको थियो। उच्च पहाडी र हिमाली भेगमा हिउँसमेत परेको छ।

मौसमविद मञ्जु वासीका अनुसार राति पानी परेकाले काठमाडौं उपत्यकामा आज बिहान चिसो बढेको महसुस भएको छ। आजदेखि मौसममा क्रमिक सुधार आएर अबका केही दिन पानी पर्ने सम्भावना छैन।

यस्तो हुने छ शुक्रबार र शनिबारको मौसमी अवस्था

शुक्रबार

प्रदेश १ र प्रदेश २ मा सामान्य बदली तथा देशका अन्य भूभागमा आंशिक बदली रहनेछ। राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश १ मा सामान्य बदली रही देशका अन्य भूभागमा आंशिक बदली रहनेछ।

प्रदेश १ र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाले जनाएको छ ।

शनिबार

प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहनेछ।

प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना समेत छ । प्रदेश १ र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

शनिबार राति प्रदेश १ र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा आंशिक बदली रहने महाशाखाले जारी गरेको मौसमी बुलेटिनमा उल्लेख छ।

प्रतिकृया दिनुहोस्