×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

जीवनशैली

ओठ वा जिब्रोमा घाउ आयो ? यस्ता छन् उपचारका उपायहरू

ओठ वा जिब्रोमा घाउ आयो ? यस्ता छन् उपचारका उपायहरू

एजेन्सी – मुखभित्र वा जिब्राेमा विभिन्न कारणले घाउ आउन सक्छ। कसैलाई तातो चिजले पोलेर घाउ हुन सक्छ भने कसैलाई खानाको एलर्जी या कसैलाई वंशाणुगत कारणले घाउ हुन सक्छ। सबै घाउ हानिकारक नभए पनि कुनै भने शरीरका अन्य रोगका कारण हुन सक्छन्।

धेरै मानिसको मुखमा साना–साना बिबिरा, फोका–फोकी, खटिरा आइरहने हुन्छ । कसैलाई आएर पनि सताएको छ । निको हुनपनि निक्कै समय लाग्छ । मुखभित्र, जिब्रो, गिजा, ओठ लगायत मुखको कुना–कानी र कहिलेकाहीँ गालाको छेउसम्म पनि घाउ भएको छ ?

यस्ता घाउ खटिराको समस्या बढेर जटिल समस्या पनि आउन सक्छ । घाऊ ठूलो र गहिरो भएमा खान बोल्नै नहुने किसिमको पनि हुन सक्छ । यसले गर्दा लगातार दुख्ने, पोल्ने, ज्वरो आउने, घाँटीको ग्रन्थि सुन्निने, दुख्ने समस्या पनि हुन सक्छ। कतिपयमा अल्सर या क्यान्सरको कारण पनि हुन सक्छ । त्यसैले उपचार गर्नुअघि घाउको कारण पत्ता लगाउनु आवश्यक छ ।

मुखमा घाउ यी कारणले आउन सक्छन्
१. मुखभित्र चोटपटक लागेर
२. तातोले पोलेर
३. भिटामिन ‘बी’ काे कमीका कारण
४. एप्थस अल्सरका कारण
५. क्यान्सर लागेर

मुखभित्रका चोटपटकले हुने घाउ अचानक टोकिँदा, कृत्रिम दाँतले बनाएका, ब्रेसेसको तारले कोरेर, किराले खाएका दाँत फुटेर धारिलो हुँदा जस्ता कारणले गाला तथा जिब्रोमा घाउ हुन सक्छ ।

यस्तै, सही तरिकाले दाँत नमाझ्दा पनि गिजा तथा गालामा घाउ हुन सक्छ । चोटपटकले बनाएका घाउ र अन्य घाउ छुट्याउनुपर्छ । अर्कोतिर दाँत दुखेका बेला घरेलु रुपमा प्रयोग गरिने ल्वाङको तेल गिजामा पर्दा पनि घाउ हुन सक्छ । यो निको हुन समय लाग्छ । अरु केमिकलको प्रयोगले मुख तथा जिब्रोमा घाउ हुन सक्छ ।

तातोले बन्ने घाउ
तातो चिज खाएर हुने घाउलाई ‘इलेक्ट्रिसिटी थर्मल’ भनिन्छ । कुनै मानिसमा बिजुलीको तार दाँतैले टोक्ने चलन हुन्छ । कहिलेकाहीँ त्यस्तो तारमा करेन्ट आउँदा पनि घाउ हुन सक्छ ।

एप्थस अल्सर
केही मानिसमा पटक–पटक मुखमा घाउ आउने समस्या हुन्छ, यसलाई मेडिकल भाषामा ‘एप्थस अल्सर’ भनिन्छ । यो अल्सर हुनुको कारण अझैसम्म पत्ता लाग्न सकेको छैन । यस्तो अवस्थामा गिजा, ओठ, जिब्रो, जिब्रो मुनि, जिब्रो माथि जुनसुकै ठाउँमा पनि घाउ आउन सक्छ । कसैलाई यो समस्या निरन्तर देखिन्छ भने कसैलाई वर्षमा एकपटक देखिने हुन्छ ।

यो अल्सर मुखको गिजा, ओठ, जिब्रो, जिब्रोमुनि, जिब्रोमाथि जुनै ठाउँमा पनि आउन सक्छ । यो घाउ कुनैबेला ठूलो आकारमा देखापर्छ भने कुनै बेला धेरैको संख्यामा आउने गर्छ। कतिको मुखमा यो समस्या सधैंभरि पनि देखिन सक्छ । यो घाउ किन आउँछ भन्ने कारण पत्ता लगाउन नसकिए पनि वंशाणुगत, तनाव, खानाको एलर्जी, रोग प्रतिरोधी क्षमता कमजोर जस्ता कारणले आउन सक्छ ।

भिटामिन, खनिज पदार्थको कमीले पनि घाउ आउन सक्छ । तनावका बेला घाउ आउन सक्छ । तर यस्तो घाउ तनाव घटेपछि आफैं निको हुन्छ । केहीमा भने एचआइभी, यौनरोगजस्ता कारणले गर्दा घाउ आउँछ । केहीमा भने औषधिले गर्दा पनि मुखमा घाउ आउँछ । क्यान्सरले गिजा तथा जिब्रोमा घाउ आउन सक्छ । विशेषतः चुरोट, सूर्ति खाने मानिसमा यस्तो समस्या देखिन्छ । मुखमा घाउ आएर एक–दुई हप्तामा निको भएन भने क्यान्सर हुनसक्ने सम्भावना बढी हुन्छ ।

मुखमा घाउ पार्ने वस्तुबाट छन् भने सबैभन्दा पहिले ती चिज हटाउनुपर्छ । चोटपटकका घाउका लागि पेनकिलर प्रयोग गरिन्छ । संक्रमण भएर आएको घाउका लागि एन्टिबायोटिकको प्रयोग गरिन्छ । क्यान्सर छ भने पहिले मासुको जाँच गरेर त्यहीअनुसार किमोथेरापीको प्रयोग गरिन्छ । केही अवस्थामा शल्यक्रिया पनि गरिन्छ । ओरल क्यान्सर प्रायःजसो पुरुषमा देखिन्छ । विशेगरी गुट्का, पानपराग, सुपारी खानेहरुलाई मुख क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

त्यसैले मुखमा कसरी घाउ आएको हो, मुखको पनि कुन अंगमा आएको छ, कुन प्रकृतिको छ जस्ता विषयमा सचेत हुनुपर्छ । मुखको घाउ भनेर बेवास्ता गर्नुहुन्न । कुनै घाउ गम्भीर प्रकृतिका पनि हुन्छन् । समयमै चिकित्सकलाई देखाउने र रोग पहिचान गरेर उपचार गर्ने हो भने सजिलै र छिट्टै निको पार्न सकिन्छ ।

कसरी समाधान गर्ने ?
१. मनतातो पानीमा फिटकिरी मिसाएर दिनमा ३ पटक कुल्ला गर्ने ।
२. पानी प्रशस्त पिउने तर बढी चिसो वा तातो नपिउने
३. हरियो सागपात तथा फलफूलहरु मजाले चपाएर खाने
४. बढी चिल्लो नखाने
५. हल्का उम्रेको गेडागुडी बिहान र बिहान खाने
६. पानीमा तुलसीको पातको रस राखेर कुल्ला गर्ने
७. बदाम भिजाएर खाने
८. मह घाउमा लपक्क लगाउने
९. निमको पात चपाउने वा निम मिलाइएको मन्जनले दाँत माझ्ने
१०. जिरा वा खयर चपाउने यसरी पनि निको नभए डाक्टरलाई देखाउने।

बारम्बार समस्या भैरहेमा वा बिभिन्न रोगको कारण पनि मुखमा घाउ आउन सक्ने भएकोले चिकित्सक समक्ष जाँच गराउनुपर्छ। तर मुखमा आएको घाउ कस्तो छ, किन आएको हो भन्ने कुरा रोगको इतिहास, व्यक्तिगत बानी व्यवहार, लक्षणका आधारमा विशेषज्ञसँग जाँच गराएर थाहा पाउन सकिन्छ। कतिपय अवस्थामा घाउको मासु वा पीप लगायत रगतको अन्य परीक्षणहरू पनि गर्नुपर्ने हुन्छ।

खासगरी यौनरोग, मुखको क्यान्सर वा कुनै संक्रमणको कारणले भएका घाउहरू जटिल हुन सक्छन् र औषधिउपचार पनि आवश्यक हुन सक्छ। 

प्रतिकृया दिनुहोस्