काठमाडौं- दार्चुलामा एकल महिलालाई बलात्कार गरेपश्चात जलाएर हत्या गरेको खुलेको छ। शैल्यशिखर नगरपालिका-१ बारीलका स्थानीय ४२ वर्षका भोजराज खडायतले आफ्नै गाउँकी ४५ वर्षीया भाउजू नाता पर्ने अनिभा खडायतलाई बलात्कार पछि जलाएर हत्या गरेको खुलेको छ। अभियुक्त भोजराजलाई प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका-३ खोचलेकबाट पक्राउ गरी सार्वजनिक गरेको हो। अभियुक्त भोजबहादुर नेपाल विद्युत् प्राधिकरण बलाच केन्द्रका सेक्युरिटी गार्ड हुन्।
भोजराजले ती महिलालाई घरबाट बोलाई बारीमा लगेको र करणी गरे पश्चात दुईबीच विवाद हुँदा ढुंगाले हाने घाइते बनाएर छाडेका थिए। उक्त घटना अनिभाकी छोरीले देखेपछि आफ्नो पोल खुल्ने डरले पुनः घटनास्थल गई खरले छोपी आगो लगाई जलाएर फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले बताए। आफ्नो घरबाट ५० मिटर टाढा उखुबारीमा खरको थुप्रोमा जलेको अवस्थामा बुधबार अनिभाको शव फेला परेको थियो। मृतक महिलाका श्रीमान ७ वर्ष पहिले बितेका थिए। मृतकका दुई छोरी र एक छोरा छन्। प्रहरीले अभियुक्त खडायतको साथबाट अनिभाले कानमा लगाएको सुनको बाली २ थान र नाकमा लगाएको नथियाँ १ थानसमेत प्रहरीले बरामद गरेको छ।
उनीमाथि जबरजस्ती करणी, ज्यानसम्बन्धी कसुर र डाँका चोरी शीर्षक मुद्दामा जिल्ला अदालत दार्चुलाबाट ७ दिन म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको विष्टले बताए। यसअघि बुधबार नै स्थानीय वीरेन्द्र खडायत र तुला खडायतलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको प्रहरीले जनाएको छ। घटनास्थलमा पुरुषको कट्टु फेला परेपछि प्रहरीले बलात्कार पछि हत्या गरिएको हुन सक्ने अनुमान गरिसकेको थियो। घटनास्थलमा रगत लागेको ढुङ्गो फेला परेको थियो। त्यसबाट प्रहरीले अनिभाको टाउकोमा ढुङ्गा प्रहार गरेको पुष्टि गर्छ। घटनास्थलमा चप्पल पनि फेला परेपछि प्रहरीलाई दोषी पक्राउ गर्न सहज भएको विष्टले बताए।