जुम्लाको गुठिचौर गाउँपालिकामा हिउँदे बिदालाई मध्येनजर गर्दै विद्यार्थीलाई नि:शुल्क ट्युसनसँगै कम्प्युटर शिक्षा दिन थालिएको छ । आगामी चैत महिनामा एसईई परीक्षाको तयारी गरिरहेका विद्यार्थीलाई नि:शुल्क कम्प्युटर शिक्षा दिन सुरु गरिएको हो ।
अहिले नै कम्प्युटर शिक्षा दिँदा माथिल्ला कक्षमा सहज हुने भएकाले अनिवार्य रुपमा कम्प्युटर सिकाउन थालिएको वडाध्यक्ष अर्जुनकुमार महाताराले जानकारी दिए । उनले भने, ‘अहिले गाउँकै विद्यालयमा ट्युसन पढाउने र सँगै कम्प्युटर कक्ष चलाउने व्यवस्था मिलाइएको छ ।’
गुठिचौर-१ खड्कदेवी माध्यमिक विद्यालयमा हिउँदे ट्युसन कक्षसँगै नि:शुल्क कम्प्युटर पढाउने व्यवस्था गरिएको छ ।
हिउँदका तीन महिना जुम्लामा स्कुलहरु बिदा हुने गर्छन् । त्यो बेला विद्यार्थीहरु फुर्सदिलो हुने र पढाइमा ध्यान नदिने भएकाले यसपटकदेखि नियमित रुपमा पठनपाठन हुने गरेर ट्युसनको व्यवस्थापन गरिएको हो । गाउँमा ट्युसनसँगै कम्प्युटर कक्ष लिने भए पनि विद्यार्थीहरु दंग छन् ।