×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एसपीपीमा नेकपा एमालेको गम्भीर असहमति

एसपीपीमा नेकपा एमालेको गम्भीर असहमति

बुटवल- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) प्रति गम्भीर असहमति जनाएको छ । एमालेका महासचिव शंकर पोखरेलले एसपीपीप्रति आफ्नो पार्टीको गम्भीर असहमति रहेको बताएका हुन् ।

प्रेस चौतारी रुपन्देहीले बुधबार बुटवलमा गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले एसपीपी प्रस्तावमा हस्ताक्षर गर्दा नेपालले अवलम्बन गर्दै आएको पञ्चशीलमा आधारित असंलग्न परराष्ट्र नीति प्रभावित हुने बताए ।

एसपीपीमा हस्ताक्षर भए नेपाल द्वन्द्वको थलो बन्ने आशंकामा बल पुग्ने उनको भनाइ थियो । ‘नेपाल कुनै मुलुकको सैनिक गठबन्धनको अंग बन्ने कुरा स्वीकार्य हुन्न’, महासचिव पोखरेलले भने, ‘एसपीपीप्रति हाम्रो पार्टीको गम्भीर असहमति छ ।’

प्रधानमन्त्री शेरबहादुर देउवाको निकट भविष्यमा नै हुने भनिएको अमेरिका भ्रमणबारे देशलाई स्पष्ट पार्नुपर्ने महासचिव पोखरेलले माग गरे । फरक प्रसंगमा महासचिव पोखरेलले हालै सम्पन्न स्थानीय चुनावमा अघिल्लो चुनावको भन्दा ८९ सिट गुमाएपनि जनमत बढाएर पहिलो पार्टी नै बनेको दाबी गरे ।

‘कांग्रेस पहिलो दल भयो भन्ने सत्य होइन, कांग्रेसले जितेको सिट संख्या अरु दलको अंशियारीमा प्राप्त मतका कारण हो’, पोखरेलले भने, ‘एमाले एक्लै एकातिर, ५ दलीय गठबन्धन अर्कोतिर हुँदा गठबन्धन पहिलो र एमाले दोस्रो भन्न सकिन्छ ।’ स्थानीय चुनावको परिणामले संघीय र प्रदेश चुनावलाई असर नपर्ने उनको दाबी छ ।

 

प्रतिकृया दिनुहोस्