काठमाडौँ- विदेशी विनिमय सिञ्चिति घट्दै गएपछि नेपाल राष्ट्र बैंकले थुप्रै वस्तुको आयातमा कडाई तथा निरुत्साहित गरेको छ । बैंक तथा वित्तीय संस्थाका सिईओलाई बोलाएर राष्ट्र बैंकले तत्काल अति आवश्यक नहुने त्यस्ता तीन सयभन्दा बढी बस्तुको आयात रोक्न निर्देशन दिएको छ ।
बैंकहरुले पनि आफ्ना सम्पूर्ण शाखाहरुलाई सर्कुलर गरी त्यस्ता बस्तुको आयातका लागि प्रतितपत्र(एलसी) नखोल्न निर्देशन दिएका छन् । विदेशी वस्तुको आयात गर्दा डलर खर्चिनु पर्ने अवस्था आउँछ । त्यसरी गरिने आयात गर्दा अब ६.६ महिनालाई मात्रै पुग्ने विदेशी मुद्रा(डलर)को सञ्चिति रहेको राष्ट्र बैंकले जनाइरहेको छ ।
तत्कालको तथ्यांक अनुसार चैत महिनामा दैनिक औषत झण्डै ६ अर्ब रुपैयाँ बराबरको अयात भइरहेको छ । यस आधारमा नेपालको निर्यात बढ्न सकेको छैन । यसले डलरको सञ्चितिमा चाप पर्ने देखिन्छ । त्यसाे हुँदा केन्द्रीय बैंकले कडाइ गरेकाे हाे ।
यस्ता छन् राष्ट्र बैंकले आयातमा रोक लगाएका मुख्य वस्तुहरु
खाद्य सामग्री : धान, चामल, चिनी, चकलेट, चिप्स, माछा, गँगटा, मासु, प्राकृतिक मह, बोटविवा, दुग्धजन्य पदार्थ, अण्डा, तरकारी तथा गेडागुडी, तरकारी, चिया, कफि, ल्वाङ, मिनरल वाटर, भिनेगर, सुपारी, छोकडा, मरिच, केरा, गाई बस्तुको दानामा रोक लगाएको छ । चालु वर्षको ८ महिनामा ३७ अर्बको चामल आयात भएको छ ।
स्वास्थ्य : अप्टिकल, मेडिकल तथा सर्जिकल उपकरणलगायतको आयात रोकिएको छ ।
मदिरा तथा सुर्तीजन्य : मदिरा, सुर्ति, चुरोट, गुट्खा, पानलगायतको आयात रोकिएको छ ।
कपडा तथा दैनिक प्रयोगका सामान : रेडिमेट कपडा, धागो, जुत्ता चप्पल, छाता, तन्ना, कुसन, कपडा बन्ने कुरुसलगायत ।
सवारी साधान : मोटरसाइकल, स्कुटर, विद्युतीय गाडी, साइकल, मोटरलगायत कुनै पनि सवारी साधन । सवारी साधनका पार्टपूर्जा, चालू वर्षको ८ महिनामा ७६ अर्बको गाडी र पार्ट आयात यो अघिल्लो वर्षको तुलनामा २१ प्रतिशत बढी हो ।
सुनचाँदी(गरगहना) : सुनचाँदी, हिरा, मोति, बहुमूल्य पत्थर । यो आर्थिक वर्षको ८ महिनामा २८ अर्ब १७ करोडको सुन र १२ करोड ८० अर्बको चाँदी आयात भएको छ । यसअघि नै यी यस्ता सामानको आयातका लागि प्रतितपत्र (एलसी) खोल्दा शत प्रतिशत मार्जिन राख्नु पर्ने व्यवस्था गरेको थियो । तर, आयात नघटेपछि यस्ता सामानको आयातका लागि एलसी नै नखोल्न आग्रह गरेका छन् ।
सौन्दर्य प्रसाधन : परफ्युम, स्याम्पू, क्रिम, पाउडर, बडी लोशन, लुगाधुने डिटर्जेन्ट पाउडर, लिक्विड वास, साबुनलगायत छन् ।
निर्माण तथा घरायसी सामग्री : काठका बस्तु तथा सामान, मार्बल, सिमेन्ट, प्लास्टर, सेरामिकका सामान, काठको कोइला, फर्निचर, चिम्नी भाँडो, जार, बोटल, चाँदीका भाडाकुँडा, खेलौना, खेलकुदका सामग्री, प्लास्टिक, प्लास्टिकका सामग्री, छाला र छालाजन्य सामग्री, कर्पोट तथा फ्लोर सजावटका अन्य सामग्री, भित्तेघडी, टेक्ने लौरो, बहुमूल्य धातुका सामान, एन्टिक सामान, विद्युतीय उपकरण नल्याउन आग्रह गरेका छन् ।