तनहुँ- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बाँचुन्जेल सामाजिक कार्यमा लाग्ने बताएका छन् । व्यास नगरपालिका–१४ कुलुङ्गमा आज कार्यकर्तासँग भेटघाट गर्दै उनले आगामी दिनमा काम गरेर देखाउने उल्लेख गरे ।
‘म जति दिन बाँच्छु, बाँचुन्जेल सामाजिक क्षेत्रमै काम गर्छु,’ नेता पौडेलले भने । व्यास नगरपालिका–१२ को छिर्कनबाट व्यास–१४ को कुलुड हुँदै केशवटार जोड्ने सडक निर्माण गर्न आफूले विशेष पहल गरेको उनले बताए । कुलुङ्ग, छाब्दी र बन्दीपुरलाई जोडेर पर्यटकीय गन्तव्य बनाउनुपर्नेमा नेता पौडेलले जोड दिए ।
पर्यटकीय प्रवर्द्धनका लागि जिल्लाका ऐतिहासिक एवं धार्मिक क्षेत्रको संरक्षण र संवर्द्धनमा जोड दिन आवश्यक रहेको उनले बताए । विगतमा रोकिएका विकास निर्माणका कामलाई निरन्तरता दिइने नेता पौडेलले उल्लेख गरे ।
उनका साथमा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोबाटे विक पनि रहेका छन् ।