नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ । एमालेको आन्तरिक विवाद समाधान गर्न आइतबार पुनः स्थायी कमिटी बैठक बस्न लागेको हो ।
नेता माधवकुमार नेपाल पक्ष सहमतिमा आउन तयार नभएपछि अध्यक्ष केपी शर्मा ओली पक्ष सो पक्षलाई छाडेर अघि बढ्ने निस्कर्षमा पुगेको बताइएको छ । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा दिउँसो ३ बजे बैठक बस्ने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताएका छन् ।
यसअघि शनिबार बसेको बैठकमा विघटित कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले पार्टीको आन्तरिक समस्या समाधानका प्रयास र प्रगतिबारे बिफ्रिङ गरेका थिए ।
नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पद त्यागेमात्र आफू एमालेसँग एक भएर जाने बटमलाइन सुनाएपछि पार्टी विवाद समाधान हुने सम्भावना लगभग सकिएको छ ।
यद्यपि आइतबार बस्ने बैठकअघिसम्म सहमतिको प्रयास जारी राख्ने नेम्वाङले बताएका छन् ।
नेता नेपालले एमाले पार्टीबाट अलग हुने निर्णय विघटित कार्यदलका सदस्यहरूलाई सुनाएपछि पार्टी एकताको सम्भावना करिब सकिएको विघटित कार्यदलका सदस्यहरूले शनिबारको बैठकमा बिफ्रिङ गरेका थिए ।
नेपालले अलग पार्टी खोल्ने तयारी गरेपछि कार्यदलमा रहेका सदस्यहरूले पनि आइतबार साँझसम्म आफ्नो कित्ता प्रष्ट पार्ने नेताहरूले बताएका छन् ।