काठमाडौं - नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अमेरिकी स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी)को विषय ‘क्लोज’ गर्न आग्रह गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवालाई संयुक्त रुपमा भेटेर उनीहरुले आज (सोमबार) एसपीपीको विषय ‘क्लोज’ गर्न आग्रह गरेका हुन् ।
बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री तथा सभापति देउवासँग एसपीपीको विषय ‘क्लोज’ गर्न आग्रह गरिएको महामन्त्री शर्माले जानकारी दिए । छलफलका क्र ममा पार्टीको आन्तरिक रणनीतिका विषयमा पनि कुराकानी भएको उनले बताए । विशेषगरी पार्टीका विभाग गठन, भ्रातृ संस्थाको पूर्णता, केन्द्रीय कार्यसमिति बैठक र पार्टीको आगामी रणनीतिका बारेमा छलफल भएको उनले जानकारी दिए ।
साथै पूँजी बजारमा देखिएको समस्या समाधान गर्न, पेट्रोलिम पदार्थमा भएको मूल्यवृद्धिमा गम्भीर भएर जनतालाई राहत दिन, पूर्व–पश्चिम रेल परियोजनाबाट प्रभावित मोरङका स्थानीयको माग सम्बोधन गर्न पनि प्रधानमन्त्री देउवासँग आग्रह गरेका बताएका छन् ।