काठमाडौं - एएफसी महिला एसियन कप छनोटमा नेपालले सानदार विजयी सुरुवात गरेको छ। उज्वेकिस्तानको तास्केन्दमा आइतबार भएको खेलमा नेपालले लाओसलाई ९-० को फराकिलो अन्तरले पराजित गर्यो।
नयाँ प्रशिक्षक प्याट्रिक डे वाइल्डको नेतृत्वमा रहेको नेपाली टोलीका लागि यो १००औं अन्तर्राष्ट्रिय खेल थियो। पहिलो पटक कप्तानीको जिम्मेवारी पाएकी स्टार फरवार्ड सावित्रा भण्डारी (साम्बा) ले एक्लै ५ गोल गर्दै जितलाई अविस्मरणीय बनाइन्।
नेपालको फराकिलो जितमा सावित्राबाहेक सरु लिम्बु, अनिता बस्नेत, रश्मीकुमारी घिसिङ र अनिता केसीले एक-एक गोल थपे। पहिलो हाफमा २-० को अग्रता लिएको नेपालले दोस्रो हाफमा आक्रामक खेल्दै थप सात गोल गरेको थियो।
यस खेलमा प्रशिक्षक वाइल्डले नियमित कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बालाई आराम दिएका थिए। उनको अनुपस्थितिमा सावित्राले कप्तानीको आर्मब्यान्ड सम्हालेकी हुन् भने गोलपोस्टको जिम्मेवारी अञ्जना राना मगरले पाएकी थिइन्। नेपाली टोली ३-२-३-२ को रणनीतिक शैलीमा मैदान उत्रिएको थियो।
समूह 'एफ' मा रहेको नेपालले अब दोस्रो खेल बुधबार श्रीलंकासँग र अन्तिम खेल शनिबार आयोजक उज्वेकिस्तानसँग खेल्नेछ। समूहको विजेता टोलीले मात्र अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कपमा स्थान बनाउनेछ। नेपाल पहिलो पटक एसियन कपमा छनोट भएर इतिहास रच्ने लक्ष्यका साथ उज्वेकिस्तान पुगेको हो।