काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलेले स्थानीय तह निर्वाचनमा पार्टीभित्रैबाट भएको अन्तर्घात र गठबन्धनका कारण लक्ष्यअनुसार नतिजा आउन नसकेको बताएका छन् । आइतबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन अपेक्षा गरेजस्तो सफल हुन नसकेको बताए ।
माओवादीलाई हराउन गठबन्धनकै दलहरु लागिपरेको भन्दै प्रचण्डले माओवादी बलियो भएको ठाउँमा अन्य दलले खेलेको र कमजोर भएको ठाउँमा कुनै सहयोग नभएको बताए । ‘हामीले गठबन्धनको धर्म र कर्मअनुसार काम गर्यौं । केन्द्रीय समझदारीअनुसार जानेमा हामी इमानदार देखियौँ’, प्रचण्डले भने, ‘उनीहरु फाइदा जे हुन्छ त्यसैतिर लागे । विशेषगरी कांग्रेस त्यसमा अगाडि देखियो ।’
प्रचण्डले केन्द्रीय समिति बैठकमा अब गठबन्धनलाई कसरी अघि लैजाने भनेर छलफल हुने पनि बताए । उनले गठबन्धनलाई प्रभावकारी बनाउन सम्भव छ कि छैन भनेर पनि छलफल गरिने बताए । प्रचण्डले पार्टीभित्रका अन्तर्घातीहरुलाई पनि कारबाही गरिने बताको एक नेताले जानकारी दिए ।
पार्टीले १५० देखि १७५ को बीचमा स्थानीय तह निर्वाचनमा नेतृत्व जित्ने अपेक्षा लिएपनि अन्तर्घात र गठबन्धनका कारण सफल हुन नसकिएको प्रचण्डको भनाइ थियो । तर, नतिजा तेस्रो स्थानमा भएपनि मत भने सुधारिएर आएको प्रचण्डको ठहर छ ।