गोरखा- आठौं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता यही महिनामा हुने भएको छ । सरोकारवालाहरुको सोमबार बसेको बैठकले १९, २० र २१ असारमा जिल्ला सदरमुकाममा प्रतियोगिता गर्ने निर्णय गरेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शान्तसिंह बस्नेतले जानकारी दिए ।
कोरोनाका कारण दुई वर्षयता हुन नसकेको प्रतियोगिता यस वर्ष भने बर्खामै भए पनि गर्ने निर्णय गरिएको उनले बताए । ‘कोरोनाले गर्दा यसअघि जिल्लामा खेल गतिविधि ठप्प भएका थिए,’ उनले भने, ‘अहिले बर्खामै भए पनि प्रतियोगिता गर्नुपर्छ भन्ने निष्कर्षमा हामी पुगेका छौं ।’
बर्खाले प्रतियोगिता गर्न केही कठिनाइँ भए पनि यसले जिल्लाको खेलकुद विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको अपेक्षा छ । प्रतियोगितामा जिल्लाका ११ वटै स्थानीय तहमा रहेका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुले भाग लिनेछन् । ‘वर्षाले समस्या गर्छ भनेर प्रतियोगिता छोट्याएर तीन दिनको बनाएका छौं,’ उनले भने, ‘एक हजार मिटर र १५ सय मिटर दौड सडकमा गराउँछौं । अन्य दौड भने ट«याक बनाएर रंगशालामा गरिनेछ ।’
सहभागिताका लागि सबै स्थानीय तहलाई टेलिफोनमार्फत जानकारी गराइसकिएको छ । प्रतियोगितामा कवड्डी, भलिबल, एथ्लेटिक्सका विभिन्न खेल, मार्सलआर्टसतर्फ कराते, तेक्वान्दो, टेबल टेनिसलगायतका खेल हुने आयोजकले जनाएको छ । ‘अब स्थानीय तहहरुले १७ असारअघि पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गरी १८ गते साँझसम्म बिजेता खेलाडी पठाइसक्नुपर्नेछ,’ अध्यक्ष बस्नेतले भने, ‘जिल्लाका विजेताहरु २२ गते प्रदेशस्तरीय प्रतियोगितामा भाग लिन पोखरा पुग्नेछन् ।’
प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २३ र २४ असारमा पोखरामा हुने छ । सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सिरानचोक गाउँपालिकाले जितेको थियो । प्रतियोगिताका लागि बजेट प्राप्त नभए पनि कार्यक्रम सकिएपछि माग गरिने उनले बताए । सदरमुकाममा आयोजना भएकाले उक्त प्रतियोगितामा गोरखा नगरपालिकाले र विभिन्न प्रायोजकहरुको पनि सहयोग उपलब्ध हुने आयोजकको अपेक्षा छ ।