काठमाडौं- काठमाडौं भ्यू टावर निर्माणका ठेकेदार मनोजकुमार भेटवाल पक्राउ परेको एक साता नबित्दै रिहा भएका छन्। १० करोड रुपैयाँ बराबरको चेक बाउन्सको उजुरीका आधारमा पक्राउ परेका भेटवाललाई जिल्ला अदालत, काठमाडौंले थप अनुसन्धानका लागि म्याद थप गर्न अस्वीकार गरेपछि उनी छुटेका हुन्।
गत असार १३ गते पक्राउ परेका भेटवाल पक्राउ पर्नासाथ अस्पताल भर्ना भएका थिए। प्रहरीले उनलाई असार १५ गते अदालतमा पेस गर्दा ६ दिनको म्याद थप भएको थियो। तर, १९ असारमा पुनः म्याद थपका लागि अस्पतालबाटै अदालत उपस्थित गराइएका उनलाई अदालतले हिरासतमा राख्न अनुमति दिएन।
जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहराले अदालतले भेटवालको स्वास्थ्य अवस्थालाई कारण देखाएर म्याद थप नगरेको जानकारी दिए। "अदालतबाट स्वास्थ्यको कारण देखाउँदै म्याद थप भएन। त्यसपछि हामीले केही गर्ने कुरा भएन," एसपी बोहराले भने।
अदालतको आदेशपछि भेटवाल गत १९ असारमै हिरासतमुक्त भएका हुन्।