काठमाडौं- नेकपा एमालेले सरकारको एक वर्ष समयको बर्बादी मात्र रहेको बताएको छ। एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले शुक्रबार पत्रकार सम्मेलन गर्दै उक्त कुरा बताएको हो।
एमाले सचिव तथा स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले शुक्रबार पत्रकार सम्मलेनमा प्रेस विज्ञप्ति जारी गर्दै यस्तो बताएका हुन्। उनले भने, ‘शेरबहादुर देउवाको नेतृत्वमा पाँच दलीय गठबन्धनको सरकार बनेको २०७९ असार २९ गते एक वर्ष पूरा भएको छ।
सरकार गठनसँगै गठबन्धनले जारी गरेको न्यनतम साझा कार्यक्रम, संघीय संसदमा प्रधानमन्त्राल गर्नुभएको संवोधन, सरकारद्वारा प्रस्तत नीति कार्यक्रम र विनियोजन बजेट र कार्यान्वयनलाई हदा यो सरकारले गएको एक वर्ष समयको बर्बादी मात्र गरेको छ।’
संविधानको रक्षा र कार्यान्वयन लोकतन्त्रको सुदृढीकरण संघीय प्रणालीको सुदृढीकरण, जनजीविका र राष्ट्रियताको सवाल, अन्तर्राष्ट्रिय सम्बन्ध, सुशासन र भ्रष्टाचार नियन्त्रणका प्रश्नमा सरकार पूरै असफल भएको एमालेको ठहर छ।
‘संविधानमा उल्लेख गरिएको स्वास्थ्य र शिक्षा जस्तो मौलिक हकको कार्यान्वयन गरी समाजवादको आधार तय गर्ने सवालमा त सरकारले छेउ टुप्पो नै फेला पार्न सकेको छैन,’ एमालेले भनेको छ। एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले देउवा नेतृत्वको सरकारको गएको एक वर्षको स्वास्थ्य क्षेत्रको मूल्यांकन प्रस्तुत गरेको छ।