काठमाडौं- २०७२ असोजमा संविधान जारी भएपछि भारतले लगाएको अघोषित नाकाबन्दी र लिम्पियाधुरा नक्सा प्रकरणपश्चात चिसिएको सम्बन्ध सुधार गर्न शुक्रबार भारतको राजधानी नयाँदिल्ली आइपुगेका प्रधानमन्त्री शेरबहादुर देउवाले तीनदिने भ्रमणको सुरुवात नै सत्तारूढ भारतीय जनता पार्टीको मुख्यालयबाट गरेका छन् । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा दिल्ली उत्रिएलगत्तै भाजपाको कार्यालय गएका थिए ।
भारत भ्रमणमा गएका नेपालका प्रधानमन्त्री प्रतिनिधिमण्डलसहित पार्टी कार्यालयमै पुगेको यो पहिलो पटक हो । अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा भाजपा कार्यालय पुगेका देउवाले कांग्रेस–भाजपा सम्बन्धलाई बढावा दिन चाहेको स्पष्ट सन्देश दिएका छन् । यसअघि देउवाले प्रधानमन्त्रीका रूपमा पाँचौं पटक शपथ लिएको महिना दिन बित्दै गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका ‘विशेष दूत’का रूपमा पाँचदिने भ्रमणका लागि काठमाडौं पुगेका भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाले पनि सिधै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए ।
व्यक्तिगत र पार्टीस्तरमा सम्बन्ध विस्तार गर्न आएका चौथाइवालेको भ्रमणका दौरान दुई पार्टीको संस्थागत सम्बन्धलाई अघि बढाउन देउवा–पत्नी आरजु राणाले हिन्दु संस्कृतिको सदुपयोग गरेकी थिइन् । चौथाइवाले भदौ ६ मा रक्षा बन्धनको बेलुकी बालुवाटार छिरेका थिए । उनी आउने थाहा पाएपछि राणा रक्षाबन्धन लिएर स्वागत गर्न बसिन् । राणाले दुई मुलुकका फरक पार्टीका नेताहरूबीचको सम्बन्धलाई एकाएक ‘भाइ–बहन’ (दिदी–भाइ) मा परिणत गरिदिइन् । त्यसलाई राणाको ‘राखी कूटनीति’ समेत भनियो । प्रधानमन्त्री–पत्नी राणाले व्यक्तिगत तहबाट सुरुआत गरेको कांग्रेस र भाजपाबीचको ‘राखी कूटनीति’ लाई देउवाले भारत भ्रमणका दौरान नयाँदिल्लीस्थित भाजपा मुख्यालयमा पुगेर संस्थागत गर्न खोजेका छन् ।
भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्यले प्रधानमन्त्री देउवा भाजपाको मुख्यालयमा जानुलाई ‘आउट अफ प्रोटोकल’ को संज्ञा दिए । उनले प्रधानमन्त्री देउवाको यो क्रियाकलापलाई आफूले राम्रो वा नराम्रो भन्ने टिप्पणी नगर्ने उल्लेख गर्दै ‘प्रोटोकलचाहिँ मिचेको’ प्रष्ट पारे । नेपालको परराष्ट्र मन्त्रालय र भारतको विदेश मन्त्रालयले जारी गरेको देउवाको औपचारिक भ्रमणमा भाजपाको कार्यालय जानेबारे उल्लेख छैन ।
जसले गर्दा देउवा भाजपाको कार्यालयमा पार्टी सभापतिको हैसियतमा गएको हो वा प्रधानमन्त्रीको हैसियतमा गएको हो भन्ने चासो रहेको छ । पूर्वराजदूत आचार्यले देउवा सभापति र प्रधानमन्त्री दुवै भएका कारण त्यसलाई छुट्याएर हेर्न नमिल्ने बताए ।
नेपालका प्रधानमन्त्री भाजपाका नेतालाई भेट्न पार्टी कार्यालयमै पुगेकामा भारतका लागि नेपालका पूर्वराजदूत तथा कांग्रेस नेता दीपकुमार उपाध्यायले पनि आश्चर्य व्यक्त गरे । ‘यसअघिसम्म नेपालबाट प्रधानमन्त्रीहरू भारत जाँदा भेट्न चाहने भारतीय पार्टीका नेताहरू उहाँ बसेकै स्थानमा आउँथे र हामीले भेटघाटको प्रबन्ध गर्थ्यौं,’ उपाध्यायले भने, ‘यसपटक त हाम्रै प्रधानमन्त्री भाजपाको मुख्यालयमा जानुभएछ । यसलाई अध्ययन गर्नुपर्छ, किनकि प्रधानमन्त्री भनेको प्रधानमन्त्री नै हो । पार्टीका नेताहरू भ्रमणमा गएजस्तो होइन ।’
कांग्रेस र भाजपाबीच सम्बन्ध विस्तार हुनु भने स्वाभाविक रहेको उनी मान्छन् । ‘भाजपासँग मात्र होइन, नेपाली कांग्रेसले भारतका अन्य पार्टीहरूसँग पनि आफ्नो सम्बन्धलाई सुमधुर बनाउनुपर्छ,’ उनले भने ।
देउवाको भारत भ्रमणका क्रममा विपक्षी भारतीय राष्टिय कंग्रेसका नेताहरूलाई भेट्ने कार्यक्रम छैन । यसले नेपाली कांग्रेस र भारतीय कंग्रेसबीच रहँदै आएको पुरानो सम्बन्ध नवीकरणमा ठेस लागेको छ । सन् २०१४ देखि नयाँदिल्लीमा बलियो केन्द्रीय पार्टीका रूपमा उदाएको भाजपा र नेपाली कांग्रेसबीच सुमधुर सम्बन्ध थिएन । भाजपाले पटक–पटक दिल्लीमा सरकार बनाए पनि नेपाली कांग्रेसको निकट सम्बन्ध भारतको कंग्रेस र समाजवादी दलहरूसंगै बढी थियो ।
प्रधानमन्त्री देउवाले पुरानो मित्रशक्ति भारतीय कंग्रेसलाई छाडेर अब नयां शक्ति भाजपासंगै निकटता राख्ने चाहेको देखिन्छ । लामो समय भारतमा पनि पत्रकारिता गरेका पत्रकार युवराज घिमिरे भारतमा अब कंग्रेस संस्थापन दल नभएका कारण पनि नेपाली कांग्रेसले भाजपासँग सम्बन्ध अघि बढाउन खोजेको मान्छन् । ‘यसअघि निर्वाचनमा तलमाथि हुँदा पनि भारतीय कंग्रेस स्थापित दलकै रूपमा मानिन्थ्यो तर अहिले कमजोर भएको छ,’ उनले भने, ‘नेपाली कांग्रेसले भारतको स्थापित दल कंग्रेससँगै अन्य समाजवादी दलहरू (जयप्रकाश नारायणको नेतृत्वमा रहेको लगायत) सँग सम्बन्ध बनाएको थियो । अहिले भारतमा समाजवादी पार्टीहरू विखण्डनको प्रक्रियामा छन् ।’
घिमिरेका अनुसार भाजपासँग नेपाली कांग्रेसको कुनै सैद्धान्तिक निकटता नरहे पनि अब भारतको संस्थापन दल भाजपा नै भएको वा हुने प्रक्रियामा छ । ‘भाजपा सैद्धान्तिक रूपमा नेपालका कम्युनिस्टसँग नजिक हुन सक्दैन, त्यसैले कांग्रेस र भाजपा नजिक हुनु एकअर्काको बाध्यता हो,’ उनले भने, ‘यी दुई दल नजिक हुनुमा अलिकतिचाहिँ प्रतिक्रियात्मक शैली पनि छ । त्यो के हो भने चीनले विगत चार वर्ष नेपालका कम्युनिस्टहरूसँग नजिक भएर सम्बन्धलाई सँगै अघि बढायो । त्यसबेला चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले नेपाली कांग्रेससँग सहकार्य गरेन । त्यसले पनि नेपाली कांग्रेस र भाजपालाई नजिक ल्याउने काम गर्यो ।’
पत्रकार घिमिरे नेपाली कांग्रेस र भाजपा नजिक हुनुलाई स्वाभाविक मान्छन् । ‘विगतमा सीपीसीले नेपालका कम्युनिस्ट पार्टीहरूसँग जसरी एउटै पार्टीको विस्तारित रूपजस्तै गरी ‘सी पथ’ लाई अघि बढाएर छलफल गर्ने काम गर्यो, त्यही कुरालाई निरन्तरता दिएर सभापति देउवाले कांग्रेसलाई भाजपाको विस्तारित रूप नबनाऊन् भन्ने हो,’ उनले भने, ‘भारत भ्रमणमा जाँदा देउवाले प्रतिपक्षी दलका नेताहरूलाई भेट्ने कार्यक्रम छैन तर उनी भाजपाको कार्यालयमै गए । उनले के बुझ्नुपर्छ भने उनको पार्टी फरक हो, भाजपाको विस्तारित रूप होइन । कम्युनिस्टहरूले गरेको गल्ती देउवाले दोहोर्याउनु हुन्न ।’
देउवाले आफू सत्तामा आएपछि १४ औं महाधिवेशनको मुखमा असोज २१ देखि २५ सम्म पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतको नेतृत्वमा तीन सदस्यीय (उदयशमशेर राणा र अजयकुमार चौरसिया) टोलीलाई भारत पठाए । चौथाइवालेको निमन्त्रणामा गएको उक्त टोलीले नयाँदिल्लीमा भाजपाका शीर्ष नेताहरूसँग भेटवार्ता गर्नुका साथै वनारसको भ्रमणसमेत गरेको थियो र उत्तर प्रदेशका मुख्यमन्त्री एवम् भाजपा नेता योगी आदित्यनाथलाई भेट्न लखनउसमेत पुगेको थियो ।
प्रधानमन्त्री देउवा पनि आइतबार वनारसकै काशी विश्वनाथको दर्शन गरेर नेपाल फर्कने कार्यक्रम छ । पूर्वराजदूत उपाध्याय प्रधानमन्त्री देउवाको वनारस भ्रमण पनि भाजपासँग नजिक बन्नका लागि सांकेतिक रूपमा हुन लागेको मान्छन् । बनारस हिन्दू धार्मिक केन्द्र हुनुका साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र रहेको इलाका पनि हो ।
पूर्वपरराष्ट्रमन्त्री तथा भारतका लागि पूर्वराजदूत भेषबहादुर थापा भने प्रधानमन्त्री देउवाको नेतृत्वमा रहेको कांग्रेस र भाजपाबीचको सम्बन्ध कसरी अघि बढ्छ भन्नेबारे अहिले नै आकलन गर्न नसकिने मान्छन् । ‘उनीहरूका बीचमा भेटवार्ता भइरहेका छन्, अहिले नै यी दुई पार्टीबीचको सम्बन्ध कसरी अघि बढ्छ भन्ने बेला आइसकेको छैन,’ उनले भने ।
भाजपा सन् १९२५ मा स्थापना भएको हिन्दूवादी संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) संग सम्बद्ध राजनीतिक पार्टी हो । आरएसएस परिवारको सदस्यका रूपमा सन् १९५१ मा ‘जनसंघ’ जन्मिएको थियो । त्यहींबाट उत्पादन भएका दुई चर्चित नेताहरू लालकृष्ण आडवाणी पछि भाजपाको अध्यक्ष भए र अटलबिहारी बाजपेयी प्रधानमन्त्री बन्न सफल भए । सन् १९७७ मा इन्दिरा गान्धीले संकटकाल लगाएपछि जनसंघ पनि अन्य पार्टीहरूसँग मिलेर जनता पार्टी बन्यो । सन् १९८० मा जनता पार्टीबाट पूर्वजनसंघका सदस्यहरू निस्किए र नयाँ पार्टीका रूपमा भाजपा बन्यो ।
सन् १९८४ को आमनिर्वाचनमा भाजपाले मुलुकभरबाट जम्मा दुई सिटमात्र जितेको थियो । त्यसपछि रामजन्मभूमि अयोध्यालाई आफ्नो राजनीतिक एजेन्डा बनाएर अघि बढेको बीजेपी सन् १९९६ मा आइपुग्दा भारतको राष्ट्रिय कंग्रेसपछि दोस्रो ठूलो पार्टी बन्न सफल भयो । त्यसबेला भाजपाले केन्द्रमा १३ दिने सरकार पनि बनायो । सन् १९९८ मा भने बाजपेयीको नेतृत्वमा भाजपाले राष्ट्रिय प्रजातान्त्रिक समूहसँग मिलेर एक वर्ष सरकार नै चलायो ।
भाजपा स्थापनाकालदेखि सन् २०१४ सम्म हेर्दा भारतको बलियो शक्तिका रूपमा उदाइसकेको थिएन । तर जब मोदीको नेतृत्वमा केन्द्रमा बहुमतको सरकार बन्न सफल भयो र दोस्रो पटक पनि बहुमतसहित मोदीकै सरकार बन्यो, यसले भारतको संस्थागत पार्टी भाजपा बन्न पुगेको स्पष्ट भयो । उक्त कुरालाई दोस्रो पटक कांग्रेस सभापति बनेका र पाँचौं पटक प्रधानमन्त्री भएका देउवाले राम्ररी बुझेर भाजपासँगको निकटतालाई अघि बढाउन लागे ।
पछिल्ला वर्षहरूमा भारत स्वतन्त्र भएपछि एकछत्र राज रहेको भारतीय राष्ट्रिय कंग्रेस कमजोर भइरहेको छ भने भाजपा झन्–झन् बलियो हुँदै आइरहेको छ । भाजपा भारतका विभिन्न राज्यहरूमा आफ्नो विस्तारलाई अघि बढाउँदै छ तर कंग्रेसले एकपछि अर्को गर्दै केन्द्रदेखि राज्यहरूमा समेत आफ्नो उपस्थिति गुमाइरहेको छ । –कान्तिपुर दैनिकबाट