काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो बनाउने तयारी गरिएको छ । निषेधाज्ञा थप एकसाता लम्ब्याउँदै थप खुकुलो बनाउने तयारी गरिएको हो । पछिल्लोपटक थप गरिएको निषेधाज्ञा आज राती १२ बजे सकिँदैछ ।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीबीच छलफलका भएको थियो । सो क्रममा निषेधाज्ञाको मोडालिटीलाई थप खुकुलो बनाउने गरी परिमार्जन गर्नेबारे कुराकानी भएपनि औपचारिक निर्णय भने भएन ।
आज तीनै जिल्लाका प्रजिअहरुको बैठक बसेर अर्को आदेश जारी गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । ‘स्वास्थ्य मन्त्रालय, कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)सँग समन्वय गरेर निषेधाज्ञा थप गरिन्छ,’ प्रजिअ पराजुलीले भने, ‘पछिल्लो समय खुलाउन माग गरिएको केही क्षेत्र पनि खुकुलो गर्ने कि भन्ने छ । यस विषयमा हामी आजै निर्णय गर्नेछौँ ।’
गृहमन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सीसीएमसीसँग समन्वय निषेधाज्ञाको मोडालिटी संशोधन गर्ने तयारी भइरहेको प्रजिअ पराजुलीले बताए । ‘त्यसका लागि संयुक्त बैठक बस्दैछ, पराजुलीले भने, ‘अबको रणनीति निषेधाज्ञालाई थप खुकुलो पारेर लैजाने नै हुनेछ ।’
तर, कुन क्षेत्रलाई कसरी खुकुलो पार्ने भन्ने बारेमा छलफलमै रहेको उनले बताए । ‘आइतबार निषेधाज्ञाको मोडालिटीलाई परिमार्जन गर्ने भन्ने विषयमा छलफल भयो, सार्वजनिक सवारीलाई पनि जोरबिजोरमा सञ्चालन गर्ने भन्ने विषय पनि उठेका छन्, तर टुंगो लागेको छैन,’ काठमाडौंका प्रजिअ पराजुलीले भने ।
अहिले निजी सवारी साधनहरू गत सातादेखि नै जोर-बिजोर प्रणालीअनुसार सञ्चालन भइरहेका छन् भने कपडालगायत पसल पनि बारअनुसार खोल्न दिइएको छ ।