×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

विचार

एउटै थालको भात,जातभन्दा ठूलो दाउरीसगँको पहिलो प्रेम

एउटै थालको भात,जातभन्दा ठूलो दाउरीसगँको पहिलो प्रेम

हजुरआमाले सानैदेखि मेरो कानमा एउटा कुरा बारम्बार हालिदिनुहुन्थ्यो - "उनीहरूले छोएको केही खानुहुन्न बाबु, पाप लाग्छ भगवान रिसाउनुहुन्छ।" मलाई भगवान भन्दा पनि पाप भन्ने शब्दले बढी तर्साउँथ्यो । त्यो के होला ? कस्तो देखिने होला ? लागेपछि मान्छे बदलिन्छ कि ? मन कालो हुन्छ कि ? तर त्यसबेला मलाई कहाँ थाहा थियो, जीवनले एक दिन यस्तै प्रश्नको उत्तर एउटी केटीको आँखाभित्र लुकाएर राखेको छ भनेर ।

हाम्रो गाउँको अलि माथी सालघारीको खोल्सापारि सिमलको रुखमुनि एउटा सानो खरले छाएको घर थियो। त्यही घरमा बस्थी दाउरी। दाउरी,अझ भनौँ समाजले बनाएको अछुत बाबुको एक छोरी । नाम जति साधारण थियो, मेरो बाल्यकालमा उसको उपस्थिति त्यति नै असाधारण थियो । खोल्साको पानीजस्तै सफा हाँसो भएकी, कपालमा सधैं रातो फुल सिउरीने, अनि आँखाभरि आकाश बोकेकी केटी। उसको आँखामा हेर्दा लाग्थ्यो आकाशका सबै तारा आएर त्यहीँ लुकेका छन्। उसको हाँसो मेरो उर्जा थियो । तर गाउँलेहरूले उसलाई दाउरी भनेर भन्दा पनि तल्लो जातकी छोरी भनेर बढी चिन्थे ।

म भने उसलाई केवल दाउरी भनेर चिन्दथेँ। हामी एउटै विद्यालय एउटै कक्षामा पढ्थ्यौं। उ सधैँ पछाडिको बेञ्चमा बस्थी, म अगाडि। तर घर फर्किने बाटो एउटै थियो। त्यही बाटोमा कहिलेकाहीँ उ ढुङ्गा टिप्दै हिँड्थी, म गुच्चा खेल्दै। अनि थाहै नपाई हामी नजिकका साथी बन्यौं। विस्तारै हामी सँगै हिँड्न थाल्यौं। कहिले उसले मलाई आँप टिपेर दिन्थी, कहिले म उसलाई कापीको खाली पाना च्यातेर दिन्थेँ। वर्षातको मौसममा एउटै छातामुनि घर फर्किनु हाम्रो सानो उत्सव हुन्थ्यो। हाम्रो मित्रता कुनै घोषणा गरेर सुरु भएको थिएन। जसरी बिहानको घाम बिस्तारै गाउँभरि फैलिन्छ, त्यसरी नै हामी एकअर्काको जीवनमा फैलिएका थियौं। 

एक दिन घरमा कोही थिएनन्। बिहानको भात बाँकी थियो। दाउरी मेरो घर अगाडी दाउरा लिन आएकी थिई। मलाई अचानक हजुरआमाको कुरा सम्झना आयो। उनिहरुले छोएको खानुहुन्न । त्यो बेला मेरो जिज्ञासाले डरलाई जित्यो। सायद त्यो प्रेम जन्मिनुअघि आउने एउटा सानो जिज्ञासा पनि थियो।

मैले भाँडो अगाडि सारेँ। खाने ? मैले सोधेँ। 
उसले झस्किएर मलाई हेरी, मसँग ?
हो, तिमीसँग । उसको आँखामा डर थियो। मेरो मनमा उत्सुकता।

हामीले एउटै थालबाट भात खायौं। त्यो भातमा न पापको स्वाद थियो, न भगवानको रिस। बरु त्यस दिन भात अलि मिठो लागेको थियो। त्यो दिन मैले धेरै बेरसम्म भगवान रिसाएको संकेत खोजेँ । त्यसपछि मैले एक महिना पर्खिएँ। कतै केही हुन्छ कि भनेर। तर केही भएन । अनि एक साँझ साहस गरेर हजुर आमालाई सोधेँ - "हजुरआमा, मैले त दाउरीसँगै भात खाएँ। पापै लागेन। खै भगवान पनि रिसाउनुभएन त।"  मेरो कुरा सकिन नपाउँदै उहाँको अनुहार रातो भयो। एक्कासी कराउदै भन्नुभो - "अछुत केटीको पछि लागेर ठूलो क्रान्तिकारी बन्छस् ? फेरि त्यस्तो कुरा सुनाईस् भने घरबाटै निकालिदिन्छु," त्यो दिन मैले पहिलोपटक बुझें मानिसहरू भगवानभन्दा धेरै आफ्ना विश्वाससँग रिसाउँदा रहेछन् । त्यसपछि हजुरआमासँग मेरो बोलचाल लगभग एक महिना बन्द भयो। तर दाउरीसँग भने झन् बढ्यो।

उमेर बढ्दै गयो, हामी किशोरावस्थाको सँघारमा पुग्यौं। झम्माखोलाको ढिकमा एउटा ठूलो बरको रूख थियो। त्यहीँ बसेर हामी भविष्यका कुरा गर्थ्यौं। 

'ठूलो भएपछि के बन्छौ ? मैले एक दिन सोधेँ'

उ मुस्कुराई।

'म त धेरै पढेर मास्टरनी बन्छु।' 

"अनि तिमी नि" - उसले म तिर हेर्दै साेधी 

म चुपचाप थिएँ के भनाैँ दाेधारमा ।  लामो समयसम्म केही बोलिन। 

उसले केही बेर मलाई हेरीरही । त्यसपछि मुस्कुराउँदै भनी - "तिमी त मलाई कहिल्यै बिर्सिन्नौ होला नि ? तिमी जहाँ भए पनि मलाई नर्विसनु है ।"  त्यो कुरा सुनेपछि मन एक्कासी काप्यो, सायद प्रेम त्यही दिन पहिलोपटक मनको ढोकामा आएर उभिएको थियो। त्यो बेला मैले हाँसेर टारेको थिएँ। तर आज यति वर्षपछि पनि उसको त्यो वाक्य मेरो स्मृतिको कुनामा ताजै छ । 

समयसँगै हामी ठूला भयौं। गाउँ वरिपरिको संसार बदलिन थाल्यो। गाउँलेहरूले हाम्रो मित्रतालाई लिएर गाँईगुईँ गर्न थाले हामीले भने केहि परवाह गरेनौँ मनले मनलाई चुपचाप चिनिसकेको थियो। दाउरीसँग कुरा गर्दा मलाई कहिल्यै उसको जात याद आएन। याद आयो भने केवल उसको हाँसो, उसको सपना, र उसको आँखामा देखिने त्यो अनौठो आत्मविश्वास।

तर गाउँ प्रेमभन्दा पहिले जात चिन्दथ्यो। मानिसभन्दा पहिले थर सोध्थ्यो। मनभन्दा पहिले रगतको रङ जाँच्थ्यो।  तर प्रेमको अनौठो बानी हुन्छ। बोलचाल घटे पनि मनको दूरी बढ्दैन। समय यस्तो आयो विद्यालयको झ्यालबाट उसले एकपटक हेरे पुग्थ्यो, मेरो सिंगो दिन उज्यालो हुन्थ्यो। मेलापात जाँदा उसको एक झलक देख्न पाइयो भने मेलामा थकान हुदैनथ्यो। उसले बाँधेको रातो रिबन हावामा फर्फराउँदा मेरो मुटु किन धड्किन्थ्यो, म आफैलाई बुझाउन सक्दिनथेँ। त्यो उमेरमा प्रेम भन्न पनि आउँदैनथ्यो। तर उसको नाम कसैले लिएपछि किन मुस्कान आउँथ्यो, त्यो पनि लुकाउन सक्दिनथेँ।

आज धेरै वर्ष बितिसके। हजुरआमा यो संसारमा हुनुहुन्न। गाउँ धेरै बदलिएको छ। बरको रूख बूढो भएको छ। खोल्सामा पानी कम बग्न थालेको छ । तर स्मृतिमा दाउरी अझै उस्तै छे। चौतारीमा बसेर हाँसिरहेकी। कपालमा जंगली फूल सिउरेकी। आँखाभरि सपना बोकेकी।

कहिलेकाहीँ राति निदाउनुअघि म सोचिरहन्छु - जीवनमा मैले धेरै मानिस भेटेँ। धेरै सम्बन्धहरू आए। धेरै प्रेमका कथाहरू सुनेँ। तर त्यो एउटै थालको भातजस्तो मिठो प्रेम फेरि कहिल्यै भेटिनँ। किनकि त्यो प्रेममा कुनै स्वार्थ थिएन। कुनै वाचा थिएन। कुनै भविष्यको योजना थिएन। त्यहाँ केवल दुईवटा निष्कपट मन थिए - एउटा मेरो अनि अर्काे दाउरीको । र आज पनि मनमनै भन्छु - यदि त्यो दिन दाउरीसँग एउटै थालमा भात खानु पाप थियो भने, म त्यो पाप हजारौं पटक गर्न तयार छु। किनकि त्यो पापले मलाई कहिल्यै भगवानबाट टाढा लगाएन, झन् भगवानसगँ नजिक बनायो, बरु मानिसलाई माया गर्न सिकायो । कहिलेकाहीँ लाग्छ, बाल्यकालको प्रेम भनेको प्रेमभन्दा बढी एउटा निष्कलंक विश्वास रहेछ, जहाँ जात हुँदैन, धर्म हुँदैन, उच-नीच हुँदैन। केवल एउटै थालको भात, एउटै बाटोको यात्रा, र कसैको सम्झना मात्र हुनेरहेछ ।

नाेट : यो कथा काल्पनिक हो कसैको जिवनसगँ मेल खाएमा संयोग मात्र हुनेछ,  धन्यवाद 

प्रतिकृया दिनुहोस्