काठमाडौं- राष्ट्रियसभाअन्तर्गत गठित विषयगत समितिमा रहेका सांसदको नाम हेरफेर गरिएको छ। राष्ट्रियसभाको शुक्रबारकझ बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सभाअन्तर्गत गठित विषयगत समितिमा रहेका सांसदको नाम हेरफेर भएको सूचना सुनाएका थिए।
उनले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा मनोनयन भएका सांसदको नाम पनि प्रस्तुत गरे। अध्यक्ष तिमिल्सिनाले विधायन व्यवस्थापन समितिका सभापतिको निर्वाचन यही वैशाख २५ गते हुने जानकारी गराए।
यसैगरी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किरातीले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन, २०७८/२०७९ सभासमक्ष पेश गरे।
बैठकमा मन्त्री किरातीको ‘प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव पारित भएको छ । राष्ट्रियसभा नियमावली, २०७५ को नियम १८४को उपनियम (४) बमोजिम सदस्यबाट प्राप्त अनुपस्थितिको सूचना अध्यक्ष तिमल्सिनाले प्रस्तुत गरेकोमा स्वीकृत भएको छ।