×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बाँकेमा मानव बेचबिखनका घटना बढ्दै

बाँकेमा मानव बेचबिखनका घटना बढ्दै

राँझा- बाँकेमा मानव बेचविखनविरुद्ध काम गर्ने संस्था बर्सेनि थपिँदै गए पनि समस्या न्यूनीकरण हुन सकेको छैन । करिब एकदर्जन गैरसरकारी संस्था जिल्लामा कार्यरत भए पनि मानव बेचविखनका घटना भने बर्सेनि बढ्दो छ । नेपालगञ्ज नाकामा मानव बेचबिखनविरुद्ध काम गर्ने माइती नेपाल, शान्ति पुनःस्थापना गृह, साथी संस्था, सेलर्ड, शक्ति समूह, साना हातलगायत संस्थाले निगरानी गर्दै आएका छन् । 

मानव बेचविखनविरुद्ध काम गर्ने संस्थाको सङ्ख्या बढ्नु सकारात्मक भए पनि सहकार्यको अभावमा दोहोरोपना देखिँदा कहिलेकाँही समस्या हुने गरेको माइती नेपाल नेपालगञ्ज शाखाका संयोजक केशव कोइरालाले बताउनुभयो । “गैरसरकारी संस्थाले सोचेजति उपलब्धि हासिल गर्न नसके पनि पीडितको खोजतलासको निवेदन बुझ्ने र खोजतलासको प्रक्रिया अघि बढाउने काम भइरहेका छन् ।”, उहाँले भन्नुभयो, “राज्यले पीडितलाई  निवेदन दिने वातावरणसमेत बनाउन नसकेको अवस्थामा सङ्घ संस्थाले सहयोग गरिरहेका छन् ।”

मानव बेचविखनविरुद्धको क्षेत्रमा काम गर्ने संस्थाले सचेतना जगाउने र सीमावर्ती क्षेत्रमा जाँच तथा परामर्श गर्ने गरे पनि बेचिएका महिलालाई उद्धार गर्न सकिरहेका छैनन् । सङ्घ संस्था परियोजनामुखी भएका कारण पनि अभियान प्रभावकारी हुन नसकेको अधिवक्ता पदम पाण्डले बताउनुभयो ।“मानव बेचविखनको क्षेत्रमा काम गर्ने संस्थाको सङ्ख्या बढेको बढ्यै छ तर बेचविखनका घटना घटेका छैनन्”,सेलर्डमा मानव बेचविखनविरुद्धको परियोजना संयोजक भएर काम गरिसक्नुभएका उहाँले भन्नुभयो,“अब हामीले गर्दै आएको तौरतरिका र काम कारबाहीमा परिवर्तन गर्नेतर्फ सोच्नुपर्ने भएको छ ।”

वैदेशिक रोजगारका नाममा महिलालाई सीमा कटाएर लैजाने र बेचविखन गर्ने गरेको पाइए पनि दलालविरुद्धका मुद्दा कमजोर हुने र पीडितले बयान फेर्ने समस्यालाई समाधान गर्न अब मुद्दा नै वैदेशिक रोजगारअनुसार दर्ता गर्नुपर्ने अधिवक्ता पाण्डेको सुझाव थियो । नेपालगञ्जस्थित माइती नेपालमा खोजतलासका लागि गत आर्थिक वर्ष २०७८÷७९ मा मात्रै सात सय १२  निवेदन परेका थिए । ती निवेदनमध्ये दुई सय ८५ जना फेला परेका थिए । 

यो अवधिमा उक्त शाखाले जोखिमपूर्ण यात्रामा रहेका छ सय २७ जनालाई  नेपालगञ्जस्थित जमुनाह नाकाबाट उद्धार गरेको संयोजक कोइरालाले जानकारी दिनुभयो । सङ्घ, संस्थाको पहलमा नाकाबाट जोखिमपूर्ण यात्रामा रहेका तथा बेचिन लागेको आशङ्का लगिएका सयौँको उद्धार हुँदै आए पनि मुद्दा भने न्यून दर्ता हुने गरेका छन् । पछिल्लो समय प्रविधिको प्रयोगले झुक्याएर, जागिरको प्रलोभन देखाएर, आफन्तबाटै भारत लगेर बिक्री गर्ने गरेको पाइएको शान्ति पुनःस्थापना गृहका कार्यक्रम संयोजक निर्मल सुवेदीले बताउनुभयो ।

उहाँका अनुसार मानव बेचबिखन गर्नेले नयाँ नयाँ रणनीति अपनाएर युवतीलाई भारत पु¥याउने गरेको पाइएको छ । शान्ति पुनःस्थापना गृहले बाँकेका चार वटा नाकाबाट आर्थिक वर्ष २०७८÷७९ मा जोखिमपूर्ण यात्रामा रहेका दुई सय ४६ जनाको उद्धार गरेको छ ।  भारत पुगेर छ जना नेपालीको उद्धार गरि नेपाल फर्काएको कार्यक्रम संयोजक सुवेदीले जानकारी दिनुभयो ।

मानव बेचबिखनका घटनामा कमै मात्र मुद्दामा जाने गरेका छन् । शान्ति पुनःस्थापन गृहले सीमामा निगरानी बढाउनाका साथै बाँकेमा आवधिक गृहसमेत सञ्चालनमा ल्याएर उद्धार गरेकालाई पुनःस्थापना गर्ने काम गरिरहेको गृहका क्षेत्रीय संयोजक भूमिराज भट्टराईले बताउनुभयो । (रासस)

प्रतिकृया दिनुहोस्