काठमाडाैँ- आगामी ३० वैशाखमा हुने स्थानीय चुनाव स्वच्छ, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगले आचारसंहिता तयार गरेको छ । राजपत्रमा बिहीबार प्रकाशित आचारसंहितामा आफ्नो नाममा पेस्की वा बेरुजु भएका स्थानीय तहका पदाधिकारी उम्मेदवार बन्न नपाउने व्यवस्था गरिएको छ । १५ चैतदेखि आचारसंहिता लागू गर्ने आयोगको तयारी छ ।
आचारसंहितामा आयोगले राजनीतिक दल, उम्मेदवार तथा दलका भ्रातृ संगठनले पालना गर्नुपर्ने आचरण पनि समेटेको छ । जसअनुसार स्थानीय प्रशासनको अनुमतिविना सार्वजनिक स्थलमा कुनै पनि प्रकारका जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्न नपाउने, कुनै पनि प्रकारका जुलुस, आमसभा, कोणसभा, बैठक तथा भेला गर्नुभन्दा ७२ घन्टाअगाडि स्थानीय प्रशासन र प्रहरीलाई स्थान, मिति र समयबारे जानकारी गराउनुपर्नेलगायतका विषय छन् ।
यसबाहेक कुनै पनि दलको आमसभामा भाग लिने तथा प्रचारप्रसार गर्ने व्यक्तिले दलको निर्वाचन चिह्नअंकित लोगो, स्टिकर, कपडा, टोपी टिसर्ट, ज्याकेट, मास्क लगाउन नपाउने, एकभन्दा बढी राजनीतिक दलले एकै स्थानमा एउटै समयमा जुलुस, कोणसभा, आमसभा, बैठक र भेला गर्न नपाउने पनि आचारसंहितामा छ ।
कुनै पनि सार्वजनिक स्थानमा दलको झन्डा, दल वा उम्मेदवारको निर्वाचन चिह्न राख्न वा टाँस्न नहुने, प्रचारप्रसारका कार्यक्रम बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म मात्र गर्न पाउने, १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई प्रचारप्रसारमा सहभागी गराउन नपाउने तथा निर्वाचन प्रयोजनका लागि ७५ ग्रामसम्मको कागजमा तीन सय वर्गइन्चसम्मको एउटै रङ र मुद्रकको नामसहितको पर्चा मात्र प्रयोग गर्न पाउने विषय पनि आचारसंहितामा छ ।
आचारसंहितामा उम्मेदवारको कार्यालयमा कपडामा बनाइएको तीन फिट लम्बाइ र तीन फिट चौडाइ भएको दलको झन्डा र चुनाव चिह्नबाहेक प्रचारप्रसारको उद्देश्यले कुनै किसिमका डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्य–दृश्य सामग्रीहरू प्रदर्शन गर्न नहुने एवं कुनै पनि उम्मेदवारले आफ्नो कार्यालयबाहेकका स्थानमा झन्डा, उम्मेदवारको चुनाव चिह्न, डिजिटल बोर्ड, फ्लेक्स, ग्लुसाइन बोर्ड, श्रव्य–दृश्य सामग्री प्रदर्शन गर्न नहुने उल्लेख छ ।
ज्येष्ठ नागरिक, महिला, यौनिक तथा लैंगिक अल्पसंख्यक तथा अपांगता भएका व्यक्तिको भावना तथा प्रतिष्ठामा आँच आउने गरी प्रचारप्रसार गर्न नहुने तथा कुनै पनि धर्मको नाममा प्रचारप्रसार गर्न तथा गराउन नहुने तथा राजनीतिक दलले प्रचारप्रसारका लागि आफ्नोतर्फबाट दुईजना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकोप्टर सेवा प्रयोग गर्न पाउने उल्लेख छ ।
राजनीतिक दल, उम्मेदवार र भ्रातृ संगठनले निर्वाचन प्रचारप्रसार गर्दा पालना गर्नुपर्ने आचरण पनि आचारसंहितामा छन् । राजनीतिक दलले निजी क्षेत्रको टेलिभिजन, रेडियो र एफएम रेडियोको माध्यमबाट एकपटकमा एक मिनेटभन्दा बढी नहुने गरी एक घन्टाको अन्तरालमा २४ घन्टामा बढीमा चारपटक प्रसारण गराउन सक्ने तथा राजनीतिक दलले निजी क्षेत्रको छापा माध्यमबाट प्रचारप्रसार गर्दा प्रत्येक दिन बढीमा सात इन्च लम्बाइ र सात इन्च चौडाइको आकारमा कुनै एक पत्रिकामा प्रचार सामग्री छपाउन सक्ने आचारसंहितामा छ । निर्वाचनमा भाग लिने उम्मेदवारले टेलिभिजन, रेडियो वा एफएम माध्यमबाट प्रचारप्रसार गर्दा एक मिनेटभन्दा बढी नहुने गरी २४ घन्टामा बढीमा दुईपटक प्रसारण गराउन सक्ने आचारसंहितामा छ ।
खर्चसम्बन्धी आचरणमा उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा खाता खोली गर्नुपर्ने, राजनीतिक दल तथा उम्मेदवारले निर्वाचनका लागि खर्च गर्दा जिम्मेवार पदाधिकारी तोक्नुपर्ने, त्यसरी तोकिएको पदाधिकारीको नाम–नामेसीसहितको विवरण उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयमा जानकारी गराउनुपर्ने उल्लेख छ । यसबाहेक २५ हजार रुपैयाँभन्दा बढी आर्थिक सहयोग प्राप्त गर्दा बैंक तथा वित्तीय संस्थामार्फत गर्नुपर्ने र सोको बिल–भर्पाई राख्नुपर्ने, आयोगले मागेको वेलामा त्यस्ता बैंक खाता र बिलहरू आयोगमा बुझाउनुपर्ने र निर्वाचन खर्चको विवरण निर्वाचन सम्पन्न भएपछि सार्वजनिक गर्ने र प्रचलित निर्वाचनसम्बन्धी कानुनले तोकेको अवधिभित्र आयोग वा निर्वाचन कार्यालयमा पेस गर्नुपर्ने उल्लेख छ । –नयाँ पत्रिकाबाट