×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सरुवाको लिस्टले नबलेको चुल्हो !

सरुवाको लिस्टले नबलेको चुल्हो !

काठमाडौं - धादिङ जिल्ला अदालतमा इजलास अधिकृतको रूपमा आउँदा निकै ठुलो उर्जा र राज्यले दिएको पदिय जिम्मेवारीलाई कुशलतापुर्वक निभाउने दृढ अठोटका साथ आईएको थियो । अदालती काम कारवाही लाई धेरै नजिक बाट राम्ररी नबुझेको मलाई धादिङ जिल्ला अदालत सिकाईको शुरूवाती पाठशाला समेत थियो । मैले शुरूवातीको दिनहरूबाट अदालत र  अदालतको सेवा प्रवाह लगायत सुधार गर्नुपर्ने ठाउँहरूको मसिनो ढंगले अध्ययन गरे र केहि सुधारका पहलहरू गर्यौ ।
मलाई पठाउँदा इजलास अधिकृतको रूपमा पठाएको भए पनि मैले स्रेस्तेदार सरको सल्लाहमा प्रशासनमा काम गर्नुपर्ने आवश्यक देखेर त्यही बाट काम थाले । मेरा जागिरे जीवनका दिनहरू अदालतको माहौल बुझ्दैमा दुई महिना समय गएको त पत्तै भएन ।
मैले आफ्नो छुट्टिको समयमा नुवाकोट आउने जाने गरिन्थ्यो ।
मेरो शाखा अधिकृतको जागिरे जीवन सँगै हाम्रो जीवनमा नया खुशीको आयाम थपिने आशमा थियौ । माघको दोस्रो हप्ता हाम्रो परिवारमा एउटा नया सदस्य थपिने वाला थियो । तर आफ्नो कामको कार्यव्यस्थाले श्रीमतीलाई स्याहार गर्ने समयको व्यवस्थापन गर्न नसक्दा  र हामीले समयमै उपचारका लागि हस्पिटल जान नसक्दा ती थपिदै गरेका परिवारका सदस्य  २०७८ पौषको अन्तिम हप्ता नै  भगवानका प्यारा हुन पुगे । हाम्रो लामो खुशीको प्रतिक्षाको अवधि  पनि शुन्यता र वियोगमा परिणत भयो । हामी उक्त दुखद घट्नाले  विक्षिप्त हुन पुग्यौ ।
केहि समय गाउँ गयौ । गाउँबाट नफर्किने गरि गएका थियौ । पछि पारिवारिक दवावमा बाध्य भएर जागिरमै फर्किएर आयौ ।  फर्केर आउँदा म  फागुनमा महिनामा एक्लै आए  ।  एक दिन उनले गाउँबाट मलाई फोन गरेर भनिन ' म धादिङ त जाँदै जान्न । नुवाकोट पनि मलाई गाह्रो हुन्छ ।  बरू जागिरै छोड्छु । कि सरूवा गराईदिनुहोस  । ' उनको उक्त  कुरामा मैले किन त्यसो भनेको ?  भनेर प्रश्न गर्न सकिन ।
मैले उनको पीडा बुझिसकेको थिए । उनले भने जस्तो शिक्षकको सरूवा गराउन सजिलो  पनि त थिएन । हामी माथी उक्त समयमा दया गरिदिने पनि त कोही थिएनन ।  मैले 'जागिर छोडिदेउ   । तर काठमाडौं आएर बस भन्ने सल्लाह दिए ।
 चैत्र महिनामा त्यही सल्लाह अनुसार उनीहरू गाउँबाट काठमाडौं आए ।  बैशाख सम्म काठमाडौं मै बसे । मलाई पनि धादिङमा मानसिक रूपमा विक्षिप्त हुँदै काम गर्न गाह्रो हुन थाल्यो । मैले भित्र भित्रै आफ्नो समस्यालाई दवाएरै भए पनि कार्यालयमा कोही कसै संग आफ्नो असहजता सेयर गरिन । बरू चैत्र महिनामा एक दिन असाध्यै गाह्रो भयो र सबै बेली बिस्तार सहित ' अफिसको कामले खुशी गुमाउदा ' शिर्षकमा  लेखेरै आफ्नो पीडा पोखे । आफुलाई शान्त पारे । मेरा सामु विक्षिप्त श्रीमती सम्हाल्नु ,उनको जागिर जोगाउनु ,आफु सम्हालिनु , जागिर छुटाउने नै भए पनि उनलाई डिप्रेसनमा जान बाट जोगाउनु , अफिसको काम लाई निरन्तरता दिनु लगायतका थुप्रै चुनौती एकै साथ देखा परे ।
गलेको ज्यान र थिलोथिलो भएको मनले ठ्याक्कै यहि नै सहि हुन्छ भनेर निष्कर्ष निकाल्न सक्ने अवस्था थिएन । उनलाई सम्झाउदै नुवाकोट नै पठाउने (जागिरमै) निष्कर्ष निकाले र जेठको पहिलो साता उनलाई दाईको छोरी साथी खोजेर नुवाकोट पुर्याए । बेलाबखत आफै आउने जाने गरे ।  त्यो परिस्थितिमा स्वयं मलाई समेत गाह्रो हुन्थ्यो भने उनलाई गाह्रो हुनु स्वाभाविक नै थियो ।  
उनलाई जवरजस्ती नुवाकोट पुर्याए पछि उनि बिस्तारै डिप्रेसनमा पर्दै गएको कुरा थाहा भयो ।
मैले पछि जेठको अन्तिम साता तीर आफ्नो सबै कुरा मेरो अभिभावक संस्था सर्वोच्च अदालतमा गई  रजिस्ट्रार ज्यू , सह रजिस्ट्रार ज्यूहरूलाई यो सबै कुराको बेली विस्तार अवगत गराए । उहाँहरूलाई आफु धादिङ बसेर काम गर्न मानसिक रूपमा अप्ठ्यारो भएको, श्रीमती डिप्रेसनमा जान लागेकोले उपत्यकाभित्र सरूवा गरिदिनु पर्यो । म उनलाई जागिर छुटाएर भए पनि उपचार गराउँछु।  आफै संगै राख्छु । हामीले धादिङमा आफ्नो सन्तान गुमाएका छौ । धादिङ बस्न गाह्रो भयो । लगायत सबै कुरा भन्दा  ' तपाईको केश सामान्यै रहेछ । मिस क्यारेज हुनु कुनै ठुलो कुरो होईन । तपाईलाई पछि हेरौला । अहिले केहि गर्न सकिन्न '  उहाँहरू मध्ये एक जनाको जवाफ थियो । जवाफ सुनेर रिङ्गटा चल्यो । अझै उहाँको मिसक्यारेज भन्ने शब्दले छाती फुट्ला जस्तै भयो । उहाँको त्यो जवाफ सुन्नेमा एकजना कुनै जिल्लाको स्रेस्तेदार ज्यू र एक जना जिल्ला न्यायाधीश ज्यू समेत हुनुहुन्थ्यो । उहाँहरूले बरू सहानुभूति राख्नु भयो । दुबै जनाले  एकै स्वरमा भन्नु भयो ' बिचरा भाईलाई समस्या नै रहेछ सकिन्छ भने गरिदिँदा हुन्छनी हजुर !' त्यसपछि उहाँले जवाफ फर्काउँदै भन्नुभो 'यस्ता त कति आउँछन हजुर हामीले मात्र गरेर भएन । माथीबाट पनि मान्नुपर्यो । ' उहाँको शब्दमा म उहाँ सँग कुनै चिज सित्तैमा भीख मागिरहेको र उहाँलाई मेरो जस्तै भीख माग्नेहरू धेरै आउने भएर आजित हुनु भएको जस्तो भाव दर्सिन्थ्यो । उहाँको अर्को शब्द 'मिसक्यारेज रहेछ यो सामान्य हो ठुलै बनाउनु पर्दैन 'भन्ने शब्दले मन अझै कुडियो । हामीले आफ्नो खुशी गुमाएर सम्हालिन गाह्रो हुने अवस्थामा पुगेका छौ । तर उहाँहरूलाई यो सामान्य लाग्यो ।  कार्य व्यस्थताका कारण श्रीमतीलाई स्याहार गर्न र समयमै अस्पताल लैजान नसक्दा सन्तान गुमाएको आलो घाउ बोकेर सहयोगका याचना गर्दा हाम्रो पीडालाई उहाँहरूले सामान्य दर्जामा राख्दा मनमनै तपाईहरूको परिवारमा यस्तो दुखद नहोस् भन्दै उहाँको ढोकाबाट 'मिल्छ भने सहयोग गरिदिनु होला ' भन्दै बाहिरिए ।

पछि लगत्तै  उनि डिप्रेसनको सिकार हुँदै गएपछि भक्तपुरमा ल्याएर राखे । त्यसपश्चात उनको नियमित उपचार गराई रहनु पर्यो । उनले धादिङ आउन अहिले पनि नमान्ने भएकोले मैले पनि आफुलाई काठमाडौं भ्याली तीर जुनसुकै अदालतमा पनि सरूवा लगि दिए हुन्थ्यो भन्ने सोच्दै पटक पटक सबैका ढोका चहारे ।
मेरो सर्वोच्च अदालतमा सरूवाका लागि जाने क्रम बढ्दै गयो । म  साउनबाट प्रत्येक महिना धाएको छु । सबैलाई भेटेको छु । विभिन्न समयमा गरेर तीन पटक निवेदन समेत पेश गरेको छु ।

मुख्य रजिस्ट्रार ज्यू , रजिस्ट्रार ज्यू , सह रजिष्ट्रार ज्यू , प्रशासन शाखाका उप सचिव ज्यू सबैलाई भेटेर कुरो गर्दा असोजबाट भोली हुन्छ पर्सी हुन्छ भन्दै आशैआशमा लामो समय बित्यो । महिना मात्र नभई त्यो बर्ष बित्यो । झिनो आश सहित पटक पटक सर्वोच्च अदालत धाईरहे ।

दश पन्ध्र दिन अगाडी मात्रै पनि सह रजिस्ट्रार ज्यू र प्रशासन शाखाका उपसचिव ज्यूलाई एकै ठाउँमा राखेर भेटे ।
उहाँहरू बाट समेत कुरो एकदमै चिल्लो , मिठो गरियो ।  तपाई लाई हामी गरिदिन्छौ । हुन्छ , भइहाल्छ जस्ता कुराहरू धित मर्ने गरि सुन्न पाईयो । मैले प्रत्येक बेला सर्वोच्च जान लागेको खबर घरमा गराउँथे।
साझ  फर्किदा ' केहि प्रगती भयो कि '? भन्ने प्रश्न सधै आईरहन्थ्यो ।
पछि पछि त म सर्वोच्च जान लागेको खबर पनि घरमा जानकारी सम्म नगराई जान्थे । म सर्वोच्च छिरेको र केही उपलब्धी नभई फर्केको कुराले अब त पारिवारिक रूपमै समेत तनाब सिर्जना गर्ने हुन  थालेको थियो ।

अस्ती बैशाख २९ गते न्याय सेवा आयोग बस्दैछ भन्ने हल्ला पहिले नै सुनिएको थियो ।
शुक्रबार पनि थियो । बैठक साढे चार बजेबाट शुरू हुने भन्ने कार्यसुची पहिल्यै नै सार्वजनिक भएको थियो । त्यो दिन उनलाई औषधीको व्यवस्था गरेर मङ्गलबार मात्र फर्किएको हुँदा  शुक्रवार काठमाडौं  फर्किएन ।
 साढे छ बजे सम्म हातमा मोबाइल बोक्दै सरूवाको सुखद खबरको प्रतिक्षामा कुरिरहे । पछि कहि कतैबाट खबर नआए पछि रूममा फर्किए । रूममा पुगेर पल्टिएको थिए । मोबाइलमा म्यासेजको घण्टी बज्यो ।
यसो हेरे ग्रुपमा लिस्ट आएको रहेछ । दुई सय उनानब्बे जना अधिकृतको सरूवाको लिष्टबाट आफ्नो नाम तीर आखा दौडाए ।
कहि कतै आफ्नो नाम भेटिन । नामै नभेटे पछि निकै छटपटि भयो ।
त्यसपछि कुनै एउटा दाजुलाई फोन गरे । दाजु 'मेरो त लिस्टमा नामै छैन । के भएको' भनेर फोन सोधे । दाजुले लिस्ट नहेरेको र हुनुपर्ने किन छुटाएछन भन्ने टालटुले जवाफ दिएपछि सोचे  अब कसैलाई भनेर पो के  नै हुन्छ र ?
सर्वोच्चको प्रशासन शाखाले तयार पारेर न्याय सेवा आयोगमा पठाउने लिस्टमा नामै नअटाएपछि कहा बाट आउथ्यो र !
पछि साढे आठ बजे तीर  घर बाट फोन आयो ।
' आज किन अनुहार अर्कै छ के भयो ' भन्ने प्रश्न तेर्स्याए ।
'मैले केहि छैन । ढिला बिदा भयो । आउन सकेन' भन्दै टार्न खोज्दै थे ।
फेरी अर्को प्रश्न गरिन 'सरूवा गर्यो कि क्या हो ?' भन्दै

मैले ढाट्न सकिन 'हो तर मेरो गरेन 'भन्दै जवाफ फर्काए।  
मेरो जवाफले उनका आँखा रसाई सकेका थिए ।
लामो समय देखी उहाँहरूले मलाई आश दिए जस्तै मैले पनि घरमा आश्वासन दिएरै टारिरहेको थिए ।
सरूवा मेरो आफ्नो पहुँचको कुरो थिएन ।
विवेकको प्रयोग नगरी सरूवा गर्दा कर्मचारीलाई झुटो आश्वासन दिने र तड्पाई राख्ने मानसिकता भए सम्म म जस्ता र म जस्ताका परिवारमा आशु छल्किनु कुनै नौलो कुरो  होईन ।

म केहि समय निशब्द भए।
उनको प्रतिक्रियाले मन छियाछिया बनायो र आफैलाई धिक्कारे ।
उनले रूदै भनिन
'अब त हामी दुबैजना पेट्रोल लगेर सर्वोच्च प्रशासनमा गएर आत्मदाह गर्नुपर्छ।  '
यो उनको आक्रोश थियो । यसमा उनको पीडा मिसिएको थियो ।
एउटा कर्मचारीलाई सहज हुने गरि बिरामी श्रीमती स्याहार्न मिल्ने गरि सरूवा गरिदिनु होस भन्दा नमाने पछिको बिद्रोह थियो ।
उनको 'आत्मदाह गरौ 'भन्ने शब्दले मलाई रातभरी छट्पटि भैरह्यो ।
त्यो रात निकै लामो भएको अनुभुती भयो । खाना खान समेत मन लागेन ।  
मेरा हाकिमहरूको ( रजिस्ट्रार,सह रजिस्ट्रार र प्रशासन शाखाका उपसचिव )व्यवहारले  पेट फुल्लिएर आयो ।
जागिर प्रतिको घृणाबोध भैरह्यो ।
'तपाईको समस्या नर्मल रहेछ  ' भन्ने जवाफ रातभरी कानमा गुन्जिरह्यो ।त्यो रात मेरो मात्र होईन । मेरो घरको (परिवारको ) समेत चुल्हो बलेनछ  ।  चुल्हो बालेर खाना पकाउन समेत जागर चलेन ।

मेरो जागिरका कारण पारिवारिक रूपमा भएको तनावको म संग कुनै जवाफ छैन । न कुनै हिसाव किताव नै छ । अझै यसरी चुल्हो सम्म नबल्ने गरि हुने व्यवहारहरूले कति दिन चुल्हो निभाएर जिन्दगी र जागिर चल्छ ? कति दिन चुल्हो नबालेका रातहरू बित्छन ? ती रातहरूले दिने पीडाको हिसाब कसले बुझिदिन्छ ? यी सबै प्रशनहरूले अहिले रन्थनिएको छु ।

सरूवाको लिस्टमा नअटाएको नाम सबै रजिस्ट्रार,मुख्य रजिस्ट्रार र सह रजिस्ट्रार ज्यूहरूको डायरीको कुनै पेजमा पक्कै भेटिन्छ।
उहाँहरू सबैले मेरो नाम टिप्दै राख्नु भएकै थियो । कृपया तपाईहरूको डायरीमा भएको नाम ' महेश सिंह धामी' एकपल्ट सम्झिदिनु होला ।
नत्र म जस्तै हरेक सरूवाको लिस्टले धेरैका चुल्होमा आगो बल्ने छैन ।

प्रतिकृया दिनुहोस्