काठमाडौं। नेपाल शिक्षक महासंघले सरकारसँग भएको पूर्वसहमति अनुसार शिक्षा विधेयक अघि नबढेको भन्दै आन्दोलनको घोषणा गरेको छ। बिहीबार काठमाडौंमा बसेको महासंघको बैठकले भदौको दोस्रो सातादेखि चरणबद्ध आन्दोलन सुरु गर्ने निर्णय गरेको हो।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार, आन्दोलनका कार्यक्रमहरू तय गर्न एक 'आन्दोलन परिचालन समिति' गठन गरिनेछ। समितिले तयार पारेको आन्दोलनको खाकालाई महासंघको राष्ट्रिय समितिले पारित गरेपछि कार्यक्रमहरू सार्वजनिक गरिनेछ।
आन्दोलनको तयारीका लागि महासंघले भदौ ३ र ४ गते राष्ट्रिय समितिको पूर्ण बैठक बोलाएको छ। अध्यक्ष सुवेदीले शिक्षा समितिमा विधेयकको प्रक्रियाबारे आफूहरूलाई कुनै जानकारी नभएको बताउनुभयो। "विधेयक प्रतिनिधिसभामा दर्ता भएपछि मात्रै यसले शिक्षकका मागहरू कति सम्बोधन गर्यो भनेर यकिन गर्न सकिन्छ," उहाँले भन्नुभयो।
बैठकमा सरकारसँगको सहमतिपछिको अवस्थाबारे समीक्षा गरिएको थियो। महासंघको बुझाइमा, आउन लागेको विधेयकले सम्पूर्ण शिक्षक-कर्मचारीलाई सन्तुष्ट पार्ने र विद्यालय शिक्षाका समस्याहरू समाधान गर्ने गरी आउने संकेत देखिएको छैन।