काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले चाडपर्वमा विदेशी उत्पादनको सट्टा स्वदेशी वस्तुको प्रयोग बढाउन सबैलाई आह्वान गर्नुभएको छ। विशेषगरी तीजजस्ता सांस्कृतिक पर्वहरूमा नेपाली पहिरन र घरेलु उत्पादनको प्रयोगले देशलाई आत्मनिर्भर बनाउने उहाँको भनाइ छ।
तीजको पूर्वसन्ध्यामा आयोजित '२२औं श्रृजनशील उद्यमी मेला–२०८२' को उद्घाटन गर्दै उहाँले भन्नुभयो, “अब हङकङको साडी होइन, आफ्नै माटोमा बनेको पहिरन लगाउनुहोस्। यसले तपाईंको सुन्दरता मात्र बढाउँदैन, देशको अर्थतन्त्रलाई पनि बलियो बनाउँछ।” उहाँले सुन्दरता व्युटी पार्लरले मात्र नभई सिर्जनशील उद्यमले पनि निखार्ने बताउनुभयो।
विदेशी वस्तुको बढ्दो प्रयोगले स्वदेशी उद्योग धराशायी भएकोमा चिन्ता व्यक्त गर्दै मन्त्री भण्डारीले गार्मेन्टजस्ता उद्योगमा समेत विदेशी डिजाइन र श्रमिकमा निर्भर रहनु आत्मनिर्भरताको बाधक भएको टिप्पणी गर्नुभयो।
महिला उद्यमशीलतालाई आर्थिक समृद्धिको प्रमुख आधार मान्नुपर्नेमा जोड दिँदै उहाँले सरकारले महिला उद्यमीका लागि सहुलियतपूर्ण कर्जा, डिजिटल साक्षरता र ‘मेड इन नेपाल’ जस्ता अभियानलाई प्राथमिकतामा राखेको जानकारी दिनुभयो। उहाँले महिला सिर्जनशील केन्द्रले सञ्चालन गरेका व्यावसायिक तालिम र सीप विकास कार्यक्रमहरूको प्रशंसा गर्दै निजी क्षेत्र र सरकारी निकायको सहकार्यले मात्र उद्यमशील वातावरण बन्ने विश्वास व्यक्त गर्नुभयो।
मन्त्री भण्डारीले यस्ता मेलाले रोजगारी सिर्जना गर्ने, आयात घटाउने र महिला उद्यमीलाई आफ्ना उत्पादनको बजारीकरण गर्न महत्त्वपूर्ण अवसर प्रदान गर्ने बताउनुभयो।
मेलामा हस्तकला, ढाकाका कपडा, अग्र्यानिक खाद्यपदार्थ, घरेलु सामग्री र सौन्दर्य प्रसाधनका सामग्रीहरू प्रदर्शनीमा राखिएका छन्। यसलाई महिला उद्यमीहरूबीच अनुभव साटासाट र व्यापारिक सम्बन्ध विस्तार गर्ने मञ्चका रूपमा हेरिएको छ।
मन्त्री भण्डारीले स्वदेशी उत्पादनको गुणस्तर र ब्रान्डिङमा ध्यान दिन आग्रह गर्दै उपभोक्ताको विश्वास जित्न र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सरकारले आवश्यक रणनीति बनाउने प्रतिबद्धता जनाउनुभयो।