बुटवल- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर अभियोगमा रुपन्देही कारागारमा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले थुनामुक्त हुन जिल्ला अदालतमा निवेदन दिएका छन्।
आफूलाई राजनीतिक प्रतिशोधका आधारमा फसाइएको दाबी गर्दै लामिछानेले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७१ अनुसार बैंक जमानतमा रिहा गर्न माग गरेका हुन्। सहकारी ठगीमा आफ्नो कुनै संलग्नता नरहेको र आफ्नो भागमा लगाइएको बिगो बराबरको रकम बैंक जमानतमा राख्न तयार रहेको उनको निवेदनमा उल्लेख छ।
लामिछानेको सचिवालयले गत साउन १९ गते नै अदालतमा निवेदन दर्ता गराए पनि यो विषयलाई तीन दिनसम्म गोप्य राखिएको थियो। रास्वपा रुपन्देहीका सभापति डा. बुद्धिप्रसाद शर्माले समेत लामिछानेले निवेदन दिएकोबारे चार दिनपछि बिहीबार मात्रै थाहा पाएको बताएका छन्।
लामिछाने गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा छन्। यसअघि रुपन्देही जिल्ला अदालतले उनलाई बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो, तर उच्च अदालतले उक्त आदेशलाई उल्ट्याउँदै उनलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको थियो।
सहकारी प्रकरणमा उनी यसअघि ८४ दिन हिरासतमा बसेर रिहा भएका थिए, तर २५ दिनपछि पुनः पक्राउ परी थुनामा पठाइएका थिए। उनले काठमाडौं कारागारमा सर्न खोजे पनि गृह मन्त्रालयले त्यसलाई रोकेको थियो।