जनकपुरधाम - नेकपा एमालेका दुईजना सांसदले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । एमाले सचेतकसमेत रहेका सांसद सुन्दर विश्वकर्मा र सीता गुरुङ्गले आइतबार नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । योसँगै एकीकृत समाजवादी पार्टीको पक्षमा प्रदेश २ मा १३ जना सांसद पुगेको छ ।
दुवै सांसदले आइतबार जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेर एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन् । उनीहरुलाई सांसद शत्रुधन महतोले निर्वाचन कार्यालय लगेका थिए ।
उनीहरु यसअघि एमाले पार्टी एक हुँदा माधव नेपाल समूहमा खुलेपनि बिहीबार जनकपुरमा एकीकृत समाजवादीको पार्टीको पक्षमा ११ सांसदले सनाखत गरिरहँदा विश्वकर्मा र गुरुङ्ग भने वीरगंजमा एमाले प्रदेश २ कमिटीको बैठकमा सहभागी भएका थिए ।
प्रदेश २ मा एमालेका २१ सांसद थिए । जसमध्ये ११ जनाले बिहीबार नै एकीकृत समाजवादीको पक्षमा सनाखत गरिसकेका छन् । अब प्रदेश २ मा एमालेका ८ सांसद मात्रै बाँकी छन् ।