काठमाडौं - अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) ले क्रिकेटलाई थप छरितो, स्पष्ट र आधुनिक बनाउने उद्देश्यका साथ आज (अक्टोबर १, २०२६) देखि लागू हुने गरी क्रिकेटका 'Playing Conditions' मा १० वटा महत्वपूर्ण परिवर्तनहरूको घोषणा गरेको छ।
यी नयाँ नियमहरू अक्टोबर १ वा त्यसपछि सुरु हुने नयाँ अन्तर्राष्ट्रिय सिरिजहरूमा लागू हुनेछन् भने यसअघि नै सुरु भइसकेका सिरिजहरूमा भने पुरानै नियम कायम रहने आइसीसीले जनाएको छ।
नयाँ नियम अनुसार अब ब्याटरले जानाजान समय खेर फालेमा तेस्रो पटकदेखि फिल्डिङ टोलीलाई ५ पेनाल्टी रन प्रदान गरिनेछ। त्यसैगरी खराब प्रकाशका कारण डे-टेस्ट रोकिने अवस्था अन्त्य गर्न दुवै टोलीको सहमतिमा 'पिंक बल' प्रयोग गर्न सकिने, टी-२० मा १५ मिनेटको इनिङ्स ब्रेक हुने, तथा ड्रिंक्स ब्रेकमा मुख्य प्रशिक्षकले मैदान प्रवेश गरी रणनीतिबारे छलफल गर्न पाउने व्यवस्था गरिएको छ।
यस्तै, रनआउट र स्टम्पिङ गर्दा बलमाथि पूर्ण नियन्त्रण हुनुपर्ने, लेग-साइड वाइडको व्यवस्थालाई स्थायी बनाइएको, दिनको अन्तिम ओभरमा विकेट गए पनि ओभर पूरा गरिने, ओभरथ्रोको स्पष्टता, महिला क्रिकेटका लागि बलको तौल तथा आकारमा नयाँ मापदण्ड र बल 'फाइनल्ली सेटल्ड' हुने निर्णयमा अम्पायरलाई थप अधिकार दिने जस्ता महत्त्वपूर्ण परिवर्तनहरू लागू गरिएका छन्।