तानसेन – हिमाली भेगको खजाना मानिने विश्वकै बहुमूल्य जडीबुटी यार्सागुम्बा पाल्पाको रम्भा गाउँपालिकामा भेटिएको प्रयोगशाला परीक्षणबाट पुष्टि भएको छ। समुद्री सतहबाट करिब १,८०० मिटरको न्यून उचाइमा यार्सा भेटिनुलाई दुर्लभ र चामत्कारिक घटना मानिएको छ, जसले जिल्लावासीलाई उत्साहित बनाएको छ।
गत साता रम्भा गाउँपालिका–२ फोक्सिङकोट र वडा नं. ३ को रिमिघा लेकमा सुन्तलाको बिरुवा रोप्न खाल्डो खन्ने क्रममा स्थानीयले यार्सागुम्बा जस्तो देखिने वस्तु फेला पारेका थिए। शंका लागेपछि उक्त वस्तुलाई राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटारमा परीक्षणका लागि पठाइएको थियो। डिभिजन वन कार्यालय, पाल्पाका प्रमुख नारायणदेव भट्टराईका अनुसार प्रयोगशालाले उक्त वस्तु बहुमूल्य यार्सागुम्बा नै भएको प्रमाणित गरेको हो।
यार्सागुम्बा भेटिएको पुष्टि हुनासाथ जिल्ला सुरक्षा समिति र गाउँपालिकाले तत्कालै उक्त क्षेत्रमा सर्वसाधारणको प्रवेशमा पूर्ण रोक लगाएको छ। गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार यार्साको संरक्षण र सम्भावित अनियन्त्रित संकलन रोक्न उक्त क्षेत्र सिल गरिएको हो। प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले यार्सा प्रमाणित भए पनि यसको प्रजाति र औषधीय गुण (मेडिसनल भ्यालु) बारे थप अनुसन्धान हुन बाँकी रहेको बताउनुभयो।
सामान्यतया ३,५०० देखि ५,५०० मिटरको उचाइमा मात्र पाइने यार्सागुम्बा पाल्पाको न्यून उचाइमा भेटिनुले यस क्षेत्रको जैविक विविधता र आर्थिक सम्भावनाबारे नयाँ ढोका खोलेको छ। शक्तिवर्दकदेखि क्यान्सर र मुटुरोगसम्मका औषधि बनाउन प्रयोग हुने यो जडीबुटी आपूर्तिको दृष्टिकोणमा चीनपछि नेपाल विश्वकै दोस्रो ठूलो देश मानिन्छ।