×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे सदनलाई जानकारी गराउन एमालेको माग

प्रधानमन्त्रीको अमेरिका भ्रमणबारे सदनलाई जानकारी गराउन एमालेको माग

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणबारे सदनलाई जानकारी गराउन माग गरेको छ।

आइतबार संसद बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्री देउवाको अमेरिकी भ्रमणबारे तत्काल सदनलाई जानकारी गराउन माग गरेका हुन्। सांसद ज्ञवालीले देउवाको अमेरिका भ्रमण प्रधानमन्त्रीको हैसियतमा हुँदैछ कि रक्षामन्त्रीको भन्ने प्रश्न पनि गरे।

‘प्रधानमन्त्री देउवा प्रधानमन्त्रीको हैसियतमा अमेरिका जाँदै हुनुहुन्छ कि रक्षामन्त्रीको ?,’ ज्ञवालीले प्रश्न गर्दै भने, ‘रक्षामन्त्रीको हैसियतमा जाँदै हुनुहुन्छ भने त्यहाँ के समझदारी हुँदैछ, सदनलाई जानकारी गराउनुपर्छ।’ सांसद ज्ञवालीले देउवाको अमेरिका भ्रमणको चाँजोपाँजो परराष्ट्र मन्त्रालयले नभई नेपाली सेनाले मिलाइरहेको पनि आरोप लगाए।

‘यो भ्रमणको सम्रग चाँजोपाँजोमा अमेरिकाको डिपार्टमेन्ट अफ डिफेन्सले मिलाइरहेको छ। नेपालको परराष्ट्र मन्त्रालय होइन, नेपाली सेना यो भ्रमणमा जोडिएको देखिन्छ,’ उनले भने, ‘भ्रमण प्रधानमन्त्रीको हैसियतमा हुँदैछ कि रक्षामन्त्रीको हैसियतमा ? यसबारे सदनलाई जानकारी गराउनुपर्छ।’

उनले सरकारले महत्त्वपूर्ण विषयमा प्रमुख प्रतिपक्षी दलसँग छलफल गर्न छोडेको पनि बताए। ‘प्रधानमन्त्रीको अमेरिका भ्रमण हुँदैछ तर प्रतिपक्षी बेखबर नै छ। यो पटकमात्रै होइन अरु समयमा पनि सरकारले महत्त्वपूर्ण विषयमा प्रतिपक्षी दलसँग छलफल र परामर्श गरेको छैन, ‘ उनले भने।

देउवाको अमेरिका भ्रमणबारे उठेका विषयमा संसद अनुत्तरित हुन नमिल्ने बताए। ‘सत्तापक्षकै एउटा दलका प्रमुख सचेतकले प्रधानमन्त्रीको अमेरिका भ्रमण नै रद्द गरियोस् भन्नुभएको थियो। त्यसैले केही आशंका उत्पन्न भएका छन्,’ उनले भने, ‘यो विषयमा सदन अनुत्तरित हुनुहुँदैन।’ सांसद ज्ञवालीले प्रधानमन्त्री देउवाको भ्रमण राष्ट्रिय हो कि व्यक्तिगत हो अनि त्यहाँ के समझदारी हुँदैछ भन्नेबारे सदनलाई जानकारी गराउनुपर्ने बताए।

प्रतिकृया दिनुहोस्