काठमाडौं-नेपाल सुशासन पार्टीका अध्यक्ष एवं पूर्वडीआइजी रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेका छन् ।
उनले आउँदो १० वैशाखमा हुने उपनिर्वाचनमा रास्वपाबाट बारा–२ मा उपनिर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन् ।
‘नेपाल आमालाई सेवा गर्ने उद्देश्यले बारा–२ बाट रास्वपामा आबद्ध भई आगामी वैशाख १० गते हुने निर्वाचनमा सहभागी हुने निर्णय गरेको छु । डाक्टर प्रणय राणाको प्रयासलाई स्वागत र सम्मान गर्दै यहाँहरू सबैको सहयोगको अपेक्षा गर्दछु । राष्ट्र सेवामा इमान्दारी र निष्ठाका साथ अगाडि बढ्ने प्रतिबद्धता ।’
२४ मंसिर २०७८ मा नेपाल सुशासन पार्टी स्थापना गरेका खरेल गत मंसिरमा भएको आम निर्वाचनमा काठमाडौं–१ बाट चुनाव लडेका थिए । तेस्रो भएका खरेलले ३ हजार १ सय २४ मत पाएका थिए ।
रास्वपाले चितवन–२ मा सभापति रवि लामिछाने र तनहुँ–१ मा कांग्रेस छाडेका स्वर्णिम वाग्लेलाई उम्मेदवार बनाउने भएको छ । नागरिकता विवादमा सांसद पद गुमेपछि लामिछाने उप निर्वाचनमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।
तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति तथा बारा–२ बाट चुनाव जितेका रामसहायप्रसाद यादव उपराष्ट्रपति चुनिएपछि ती क्षेत्र अहिले रिक्त रहेका छन् ।