काठमाडौँ- स्थानिय तहको निर्वाचनको मिति जति नजिक आइरहेको छ उती सरगर्मी बढिरहेको छ । शहरबजार देखी गाँउको दूर दराजसम्म एकै पटक चुनावी चटारोले नेता र जनता सबैलाई छोपेको छ ।
एकातिर प्रधानमन्त्री शेरबहादुर देउवालाई परमादेशबाट प्रधानमन्त्री बनाउँन बनेको गठबन्धन र अर्को तिर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेकाबीचमा यस पटकको चुनावी भिडन्त हुने पक्कापक्की भएको छ तर यहि बिषयले नेपाली कांग्रेस भित्र भने एकमत हुन सकेको छैन ।
मुख प्रतिपक्षी दल नेकपा एमालेले निकै आक्रामक रुपमा चुनावी गतिविधीलाई देशव्यापी बनाएको छ । एमाले एक्लै चुनाव जित्न सक्छु भन्दै चुनावी मैदानमा होमिएको छ । कांग्रेस लगायतका अन्य दलहरुको गतिविधी भने सुस्त देखिएको छ । एक्लै चुनावी गतिविधी गर्ने की गठबन्धन सहित कुद्ने भन्नेमा अन्यौलता देखिएको छ ।
स्थानिय तहको निर्वाचनका लागि कांग्रेसले नारा तय गरेको छ घरघर जाउँ कांग्रेस जिताउँ । अहिले कांग्रेसको नारा र पारा नमिलेको भन्दै आलोचना भइरहको छ । आलोचना गर्नेमा अरु नभएर कांग्रेसकै उच्च तहका नेता देखी तल्लो तहका कार्यकर्ता सम्म रहेका छन् ।
नारा घर घर जाउँ कांग्रेस जिताउँ भन्ने तर व्यवहार चाँही घरघर जाउँ माओवादी जिताउँ भन्नु पर्ने यो त अती नै अव्यवहारिक भएको तर्क कांग्रेसजनले गरेका छन् । एकातिर कांग्रेसको चारतारे झण्डा र अर्कोतिर हसिँया हथाौडाको झण्डा बोकेर हिड्न निकै कठिन भएको एक कांग्रेस नेताले गुनासो गरे ।
नेपाली कांग्रेसकै नेता डा। शेखर कोइरालाले पनि सार्वजनिक रुपमा यस्ता प्रश्न गरेका छन् ।’ घर घर जाँउँ कांग्रेस जिताउँ भन्ने नारा तय गरेर कसरी घर घर जाउँ माओवादी जिताउँ भन्ने रु यो त विचार नमिल्ने कुरा भयो सुन्दा सामान्य लागे पनि यो कुरा निकै गम्भिर कुरा हो’ कोइरालाले भनेका छन् ।
कतिपय ठाउँमा गठबन्धको बैठक बस्ने र केही गतिविधीको तस्विर सामाजिक संजालमा सार्वजनिक भएका छन् जसको पनि निकै खिसिट्यूरी गर्दै सामाजिक संजाल प्रयोगकर्ताहरुले आलोचना गरेका छन् । कांग्रेसको चारतारे झण्डा, माओवादी केन्द्रको हसिँया हथौडा र नेकपा एसको कलम चिन्ह सहितको झण्डा बोकेर लाम लागेकाहरुको तस्विर अहिले मजाकको रुपमा भाइरल भइरहेको छ ।