काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फातिमा सुमारबीच भेटघाट भएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका एकीकृत समाजवादीका अध्यक्ष नेपाल र सुमारबीच बिहीबार सिंहदरबारस्थित संघीय सचिवालय भवनमा भेटघाट भएको एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बताए । भेटघाटमा अध्यक्ष नेपालले नेपाली जनता र राष्ट्रको हितविपरीत हुने कुनै पनि सम्झौतामा आफ्नो पार्टीको सहमति नहुने स्पष्ट पारेका छन् ।
उता, सुमारले एमसीसी नेपालको पक्षमा रहेको र यसलाई पारित गर्दा नेपालकै हित हुने प्रस्टीकरण दिएकी छन् । नेपालको हितमा रहेकाले पारित गर्दा नेपालकै विकास हुने नगर्दा अहितमा हुने सुमारको भनाइ रहेको भेटघाटमा सहभागी एकीकृत समाजवादीका केन्द्रीय सदस्य गंगालाल तुलाधरले बताए ।
जवाफमा अध्यक्ष नेपालले नेपाली जनता र राष्ट्रको हितमा भए नभएको कुरा सुनिश्चितता खोजेको उनले बताए । एमसीसी सम्झौताबारे नेपालमा मात्र नभई अमेरिकी अधिकारीबाट समेत भ्रम र आशंका उत्पन्न हुने अभिव्यक्ति आएको स्मरण अध्यक्ष नेपालले गराएको तुलाधरले बताए ।
‘हामी नेपाली जनता र राष्ट्रको हितविपरीत हुने कुनै पनि सम्झौता गर्न सक्दैनौं भन्ने कुरा नै अध्यक्षज्यूले राख्नुभयो’ नेपालको भनाइ उद्धृत गर्दै तुलाधरले भने, ‘अहिले जे भ्रम र आशंका उत्पन्न भएको छ त्यो हामीबाट मात्र नभई अमेरिकी अधिकारीबाटै भएको छ । ती आशंका तथा भ्रम आउने कुरा स्पष्ट गर्नू भनेर हामीले भन्यौं ।’
तत्कालीन नेकपामा एमसीसी कार्यदल गठन भएको र झलनाथ खनाल संयोजक रहेको कार्यदलले दिएका सुझाव पनि भेटघाटमा स्मरण गराइएको उनले बताए । आफूहरूले अहिले संयुक्त सरकार रहेका र सबै नेताहरूसँग छलफल गरेर यसबारेमा स्पष्ट पार्न सुझाव दिएको तुलाधरले बताए ।
भेटघाटमा अध्यक्ष नेपालसहित नेताहरू प्रमेश हमाल, तुलाधर, नेपालका स्वकीय सचिव मोहन गौतम तथा एमसीसी उपाध्यक्ष सुमारसहित सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सलगायतको सहभागिता रहेको थियो ।आजको राजधानीमा खबर छापिएको छ ।