काठमाडौं - काठमाडौंको तीनकुनेमा गत चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा मुद्दा खेपिरहेकामध्ये 'जनकमान्डर' भनिएका दुर्गा प्रसाईंसहित ७ जनालाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ। सोही मुद्दाका अन्य ३२ जना धरौटीमा रिहा भएका छन्।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार प्रसाईंसहित सरोज गौतम (तारा राजावादी), गोकर्ण शाही (अनुप राजावादी), डण्डपाणी रेग्मी, केशव बस्नेत, कुमार तामाङ र सुशील बराललाई थुनामा राख्न आदेश दिएको हो।
अदालतले राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवलशमशेर राणालाई भने फरार प्रतिवादीका रूपमा राखेको छ। उनीहरू यसअघि हाजिरी जमानीमा छुटे पनि अदालतमा उपस्थित भएका थिएनन्। धरौटीमा छुटेका ३२ जनासँग भने अदालतले १० हजारदेखि १ लाख रुपैयाँसम्म धरौटी माग गरेको छ।
सरकारले प्रसाईंसहितका प्रतिवादीहरूविरुद्ध राजद्रोह, आपराधिक उपद्रव, ज्यान मार्ने उद्योग र संगठित अपराधजस्ता गम्भीर अभियोगमा मुद्दा दायर गरेको थियो। जिल्ला प्रहरी परिसरमा कार्यरत प्रहरी नायब उपरीक्षकसहितका सुरक्षाकर्मीको जाहेरीका आधारमा मुद्दा चलाइएको हो।
घटनाको क्षति:
चैत १५ को उक्त हिंसात्मक प्रदर्शनका क्रममा पत्रकार सुरेश रजक र सर्वसाधारण सविन महर्जनको मृत्यु भएको थियो। प्रदर्शन नियन्त्रणका क्रममा प्रहरीले चलाएको गोली लागेर २० जना सर्वसाधारण घाइते भएका थिए, जसमध्ये ३ जनाको अझै उपचार भइरहेको छ।
प्रहरीको तथ्यांकअनुसार प्रदर्शनका क्रममा ५६ वटा घर तथा कार्यालय र ६९ वटा सवारीसाधनमा तोडफोड तथा आगजनी भएको थियो। जसमा निजी घर, सञ्चार गृह, अस्पताल, बैंक, पार्टी कार्यालयलगायतका संरचनामा क्षति पुगेको थियो।